१२ वडा रहेको वाग्मती नगरपालिकामा जम्मा चार ठाउँमा सबै वडा कार्यालय छन् । जसले सेवाग्रही सेवा लिन घण्टौं पैदल हिँडेर आउनु परेको छ । एकै भवनमा तीन वडा कार्यालय भएपछि सेवाग्रही झुक्किने गरेका छन् ।

साविकको शंकरपुर, राजघाट, कर्मैया र ढुंग्रेखोला गरी चार गाविसबाट बनेको वाग्मती नगरपालिकाका १२ वटा वडा पुरानै गाविस भवनबाट सञ्चालन भएका छन् । साविकको शंकरपुर गाविस अहिले वाग्मतीको ८, ९ र १० गरी तीनवटा वडामा विभाजन भएको छ । तर, ती सबैको कार्यालय सोल्टी बजारमा रहेको पुरानो गाविस भवनबाट सञ्चालन भइरहेको छ ।

यस्तै साविकको राजघाट गाविस पनि वाग्मतीको ५, ६ र ७ गरी तीन वडामा बाँडिएको छ । ती तीनवटै वडाको वडा कार्यालय ५ नम्बर वडास्थित पुरानो राजघाट गाविसबाटै सञ्चालनमा छन् । साविकको कर्मैया गाविस पनि वाग्मतीको ४, ११ र १२ गरी तीन वडामा विभाजन भएका छन् । त्यहाँको पनि तीनवटै वडा कार्यालय ११ नम्बर वडास्थित साविकको कर्मैया गाविसबाट सञ्चालनमा आइरहेका छन् ।

साविकको ढुंग्रेखोला गाविस पनि वाग्मतीको १, २ र ३ गरी तीन वडामा बाँडिएका छन् । त्यहाँको पनि तीनवटै वडा कार्यालय १ नम्बर वडास्थित साविकको ढुंग्रेखोला गाविसबाट सञ्चालनमा आइरहेका छन् । वाग्मतीको १, ५, ८ र ११ वडाबाहेक अन्य ८ वडामा वडा कार्यालय नै छैन । अन्य वडाका नागरिकहरू साविकको गाविस भवनमा बनाइएका संयुक्त वडा कार्यालयबाट सेवा लिन बाध्य भएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिने बेला भएर दोस्रो पटक निर्वाचनको मितिसमेत तोकिसक्दा पनि वाग्मती नगरपालिकाले अन्य आठ वडामा वडा कार्यालय बनाउन सकेको छैन । न त पायक पर्ने स्थानमा भाडाका घरमै बस्न सकेको छ । यसले संयुक्त वडा कार्यालयबाट नागरिकहरूले सेवा लिन बाध्य भएका छन् ।

तराईको सुगम जिल्ला भए पनि ५ किलोमिटरसम्मको दूरीमा गएर वडाको सेवा लिनुपर्ने बाध्यता रहेको वडा नम्बर ९ तेजपुर टोलका स्थानीय भुवन निरौलाले बताए । उनले कतिपय सेवाग्रही सेवा लिन जाँदा झुक्किनेसमेत गरेको बताए । ‘वडाध्यक्षसहित निर्वाचित जनप्रतिनिधिले राज्यबाट सेवा पाएकै छन्, फुत्त कुदेर कार्यालय पुग्छन्, तर गाउँका गरिब नागरिक घण्टौं पैदल हिँडेर वडा कार्यालयमा पुग्नुपरेको छ,’ उनले भने ।

पुरानो गाविस भवन भएकाले यहाँका संयुक्त वडा कार्यालयमा मिटिङ हलसमेत छैन । कतिपय वडाको सम्पूर्ण काम एक कोठाबाट भइरहेको छ । जहाँ सेवा दिने कर्मचारी, सेवाग्रही र जनप्रतिनिधि अटाई नअटाई बसिरहेका छन् । यसले सेवाग्रही झुक्किनु सामान्य बनेको छ । यहाँ वडाको कुनै कार्यक्रम गर्नुपरे उनीहरू आफू बसेर समय निर्धारण गर्ने गरेका छन् । त्यति मात्र हैन कर्मचारीसमेतको अभाव वडा कार्यालयहरूले खेपिरहेका छन् ।

वाग्मती नगरपालिकाको ८, ९ र १० वडा हेर्नका लागि एक मात्र सचिव छ । उनले नै तीनवटा वडा कार्यालयको कामकाज सम्हाल्दै आएका छन् । ८ नम्बर वडाको वडासचिव रहेको देवीबहादुर मगरले ९ र १० नम्बरमा सचिव नभएकाले आफूले नै काम सम्हाल्दै आएको जानकारी दिए ।

वाग्मती नगरपालिका–९ का वडाध्यक्ष रामबाबु दासले वडाको भवन निर्माणका लागि अहिलेसम्म बजेट नछुट्याइएको जानकारी दिए । उनले गत वर्ष वडा भवन बनाउन योजना लिएर पालिकामा गए पनि बजेट अभाव भएर छुट्याउन नसकिएको बताए । दासले वडामा बजेट नआए पनि सबैको सहमतिमा वडाको योजना छनोट भएर काम हुँदै आएको जानकारी दिए ।

शंकरपुरका समाजसेवी जवाहर कुशवाहाले नागरिकको गुनासो सुन्न जनप्रतिनिधि नचाहेको आरोप लगाए । उनले वडावडाबाट नागरिकलाई सेवा दिनुपर्ने स्थानमा पुरानै रहेको गाविस कार्यालयमा एकीकृत वडा कार्यालय राखी नागरिकलाई दुःख दिने काम मात्र भएको बताए ।

यस बारेमा बुझ्न वाग्मती नगरपालिकाका मेयर भरत थापालाई पटकपटक फोन सम्पर्क गर्दा पनि फोन उठेन । उपमेयर लीला कुमारी मोक्तानले चार स्थानमा रहेको संयुक्त वडा कार्यालयबाट नै सेवा दिइरहेको सुनाइन् । उनले बजेट अभाव भएकाले वडा कार्यालय स्थापना गर्न नसकेको बताइन् ।

पालिका प्रेस
थप जानकारी