स्थानीय तहहरूमा बेरुजु कम गर्न अनेकौँ समस्या रहेको सरोकारवालाहरूले बताएका छन्। काठमाडौँमा भएको स्थानीय तहमा जबाफदेहिता र पारदर्शिता प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा स्थानीय तहमा सुशासन प्रवर्द्धन र बेरुजु कम गर्न विभिन्न खालका व्यवहारिक र प्राविधिक समस्याहरू रहेको सरोकारवालाले बताएका हुन्।

एसिया फाउन्डेसन र सामुदायिक सारथि संस्थाले गरेको कार्यक्रममा गाउँपालिका महासंघका सदस्य तथा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले स्थानीय तहमा सुशासन प्रवर्द्धनमा सबै पक्ष जिम्मेवार हुने तर पालिकाका अध्यक्ष उपाध्यक्षले मात्र गरिरहेको जस्तो गरी प्रचार गरिएको बताए। स्थानीय तहका जनप्रतिनिधिभन्दा धेरै कर्मचारीदेखि महालेखा नियन्त्रक कार्यालयका लेखा परिक्षकहरुसम्म बेरुजुमा जिम्मेवार रहेको उनले आरोप पनि लगाए । लेखा परीक्षणका लागि गएका कर्मचारीहरूले नै कमिसन लिने गरेको दाबी गर्दै उनले जनप्रतिनिधिलाई अनावश्यक लाञ्छना लगाउने गरिएको गुनासो गरे ।

केही स्थानीय तहमा केही समस्या रहे पनि सबै स्थानीय तहलाई एकै नजरले हेर्न नहुने उनको भनाइ छ। महालेखा परीक्षकको प्रतिवेदनमा पनि एकै खालको खर्चलाई कुनै स्थानीय तहमा स्विकारिएको र कुनैमा बेरुजु देखाइएको दाबी अध्यक्ष पोखरेलले गरे । विभिन्न कारणले स्थानीय तहमा सुशासन प्रवर्द्धनमा समस्या रहेको स्विकार्दै उनले सम्बन्धित सबै पक्षको सहकार्यबाट मात्र त्यो कम गर्न सकिने बताए । उनले प्रदेश र सङ्घीय सरकारले पनि स्थानीय तहमा अनियमितता बढाउन सहयोग गर्ने गरेको गुनासो गरे।

गाउँपालिका महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले केही कमीकमजोरीहरू स्विकारेर तिनलाई सुधार्ने प्रयत्न थालिएको जानकारी दिँदै कतिपय अवस्थामा प्राविधिक कारणले पनि बेरुजु बढेको देखिएको उदाहरण पेस गरे। कानुनको अभाव भएका कानुनको कार्यान्वयनको समस्या, उपभोक्ता समितिको भूमिका, कर्मचारी अभाव, कम र अदक्ष जनशक्ति, महालेखा नियन्त्रणको कार्यालयका केही त्रुटि जस्ता कारणले बेरुजु देखिएको भन्दै सबै बेरुजु भ्रष्टाचार नै हो भन्ने हिसाबले व्याख्या गर्नु पनि नहुने जिकिर गरे ।

सामुदायिक सारथिका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीले काभ्रे जिल्लाका १३ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण नजिता पेस गर्दागर्दै सुशासनका दृष्टिले स्थानीय तहको कार्यसम्पादन चित्त बुझ्दो नरहेको बताए । सर्वेक्षणमा सहभागी सेवाग्राहीले स्थानीय तहमा जनसहभागिता कम मात्र रहेको, सूचनाको हक कम मात्र कार्यान्वयन भएको, सार्वजनिक सुनुवाइबारे थाहै नपाएको र थाहा पाए पनि सहभागी हुन नपाएको जस्ता गुनासो गरेको पाइएको भण्डारीले बताए ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै बागमती प्रदेश महालेखा परीक्षण कार्यालयका नायब महालेखा परीक्षक त्रिलोचन आचार्यले अनियमितता नियन्त्रणका लागि स्थानीय तह आफैँ जिम्मेवार हुनुपर्ने बताए। स्थानीय तहमा स्वीकृत दरबन्दी अनुसार कर्मचारी पदपूर्ति गर्ने, दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी योजना छनोट र बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने, आफ्नै तवरले बजेट खर्च गर्ने र पछि अनुमोदन गर्ने क्रियाकलाप नियन्त्रण गर्ने, उपभोक्ता समितिबाट भएका कार्यको गुणस्तर तथा प्रभावकारिता अनुगमन गर्नेलगायत काम गर्न सके बेरुजु स्वतः घटेर जाने उनले बताए।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जीवी नेपालले नेपालमा राजनीतिक सङ्घीयता आएपनि वित्तीय र प्रशासनिक सङ्घीयता आउन अझै बाँकी रहेको बताए।