बागमती प्रदेशसभाको २ माघमा बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट स्वीकृति प्रदान गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको २ माघअपराह्न बसेको बैठकमा प्रस्ताव टेबुल गरेका थिए । मुख्यमन्त्री जमकट्टेलले प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्न प्रस्ताव टेबुल गरे ।

यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्न प्रस्ताव टेबुल गरे । २ माघमै बसेको दोस्रो बैठकले पोखरामा माघ १ गते आइतबार बिहान चालक दलका चार जना सदस्यसहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका सबै यात्रुप्रति शोक प्रस्ताव पारित गर्‍यो ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को बैठक माघ ३ गते अपराह्न साढे १२ बजे बस्ने गरी स्थगित गरे ।

पालिका प्रेस
थप जानकारी