Exif_JPEG_420

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर २ सोल्टुमा रहेको मत्स्यनारायणको मन्दिर र कुण्डमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ । श्रावण महिनामा मलमास पर्दा नारायणको आराधना गर्न ठेलमठेल हुनुपर्ने यो मन्दिरमा यसवर्ष भने चहलपहल शुरु भएको छ । ‘नजिकको तिर्थ हेला’ भन्ने उखानलाई चरितार्थ गरी जिर्ण हुँदै जाँदा स्थानीय र वडा जनप्रतिनिधि समेतको सक्रियतामा मलमास स्नान गर्न आन्तरिक धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ ।

यसवर्ष २ साउनबाट सुरु भएको अधिकमास (मलमास) स्नान गर्नका लागि मत्स्यनारायण मन्दिरको ढोका खोलिएको वडा नम्बर २ का वडा सदस्य युवराज बिष्टले बताए । बिष्टका अनुसार–‘आफ्नै ठाउँमा भएको पवित्र तिर्थ स्थलको प्रचारप्रसार नहँुदा र स्थानीयले चासो नदिँदा नजिकको तीर्थ हेला भएको हो ।’ सदस्य विष्टले आगामी दिनमा मन्दिरको मर्मत संभार गरी धार्मिक पर्यटक भित्राउन वडाले पहल गर्ने बताए । मलमास (पुरुषोत्तम मास)मा स्नान गर्न आउने भक्तजनहरुलाई स्नान गरिसकेपछि कपडा फेर्न र पानी परेमा ओत लाग्नको लागि वडाको ८० हजार रुपैयाँको आर्थिक सहयोगमा ट्रस निर्माण गरिएको स्थानिय अगुवा गोविन्द बहादुर कार्कीले बताए । ३० साउनका दिन मलमासको अन्तिम दिन भएकाले भव्य धार्मिक कार्यक्रमको आयोजना गर्ने तयारी भैरहेको स्थानीय विष्णु बहादुर थापाले बताए ।

साविक पालुङ गाविस वडा नम्बर ७ हाल थाहा नगरपालिका वडा नम्बर २ को मत्स्यनारायण मन्दिरको स्थापनाको लिखित इतिहास छैन । स्थानीय पाकापुस्ताको भनाइ अनुसार–‘विक्रम सम्बत १९०० अघि नै मन्दिर र नारायणको मुर्ती प्रतिष्ठित गरी पाटी समेत निर्माण भएको हो ।’ मन्दिर र मुर्ति पालुङ सोल्टु बस्ने स्वर्गिय शमशेर बहादुर बस्नेतले आफ्नो निजि खर्चमा स्थापना गरि नित्य पुजा र प्रत्येक दुईदेखि तीन बर्षको अन्तरालमा पर्न आउने अधिकमास (मलमास)अर्थात पुरुषोत्तम महिनाभर पुरुषोत्तम महात्म्य श्रवण र पुजाआजाको प्रवन्ध हुने गरेको स्थानीयहरु बताउँछन् । बस्नेतका सन्ततिले केही वर्ष अघिसम्म महात्म्य लगाउने गर्दै आएको भएपनि पछिल्लो समयमा उक्त कार्य स्थगित भएको बताइन्छ ।

अहिले पनि पुरुषोत्तम महिनामा मन्दिरको ढोका खोलिने र नजिकै रहेको खोलामा कुण्ड बनाइ स्नान गरी पुजा गर्ने चलन रहेको छ । अन्य समयमा भने मन्दिरको ढोका बन्द नै हुने गरेको छ । पालुङ फेदीखोला किनारमा माछा आकारको चट्टानमा निर्मित झट्ट हेर्दा शालिग्राम जस्तो लाग्ने होचो डाँडा भएको हुँदा मच्छेडाँडाको नामले प्रख्यात सो स्थानमा मत्स्यनारायण माध्यामिक विद्यालय, मन्दिर तथा पुस्तकालय भवन समेत रहेको छ । मन्दिरको पुर्व फेदीमा सप्तऋषिको मन्दिर र दक्षिण पाखोमा राधाकृष्णको मन्दिर रहेको छ । पालुङ उपत्यका भित्र अवस्थित चार नारायणको अलावा मत्स्यनारायणले पनि एतिहासिक तथा धार्मिक महत्व रहेको बुढापाकाहरु बताउँछन् । यस मन्दिरको प्रवद्र्धन, संरक्षण र प्रचारप्रसार गनुर््पर्ने स्थानीयहरको भनाइ रहेको छ ।

यसैबीच परम्परा अनुसार १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको प्रसंग पुराणमा आउँछ । मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम माहत्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ । पुरुषोत्तम महिनामा गरेको पूजा अरु महिनाको भन्दा अधिक फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । पुरुषोत्तम भगवानको ३३ नामले पूजा–अर्चना गर्ने, नारायणको मन्दिरमा दर्शन गर्ने र महिनाको अन्त्यमा काँसको थालमा मालपुवा दान गर्ने परम्परा छ । काठमाडौंको मच्छेगाउँस्थित मत्स्यनारायणको मन्दिरमा महिनाभर मेला लाग्छ ।

पालिका प्रेस
थप जानकारी