मकवानपुर थाहा नगरपालिकाको पालुङमा भव्यताका साथ इन्द्रजात्रा मनाइएको छ । यसपालि १२ असोजमा पालुङको इन्द्रजात्रा परेको थियो । यद्यपि काठमाण्डौमा भने ११ असोजमा इन्द्रजात्रा मनाइसकिएको थियो । समुदायले बाहेक अन्य सरोकारवालाले महत्व दिन नगरिएको पालुङको इन्द्रजात्राको विशेष साँस्कृतिक महत्व रहेको छ ।

यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरि कुमारी, गणेश, सेतो भैरब, काला भैरब ईन्द्रयणीलाई नचाउने चलन छ । स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणिको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्र जात्रालाई लिइन्छ ।

यसरी मनाइन्छ इन्द्रजात्रा ?

हामी गठेमंगलमा देउता निकाल्छौं । नेवारहरुको कल्चर गठेमंगलबाट सुरु हुन्छ । लाखे नचाउन थालिन्छ । योभन्दा अगाडिको पूर्णिमाको दिन सबै नेवारहरुको हिलेजात्रा लाग्छ । अब हामी आज इन्द्रजात्रा मनाएर सबै देवी देउता भित्र राख्छौं । यसपछि हामीले अर्काे वर्षको गठेमंगलमा मात्रै देउता निकाल्ने चलन छ । इन्द्रजात्राको दिन हामीले गणेश, कुमारी, इन्द्रायणी, बाराही र भगवती नचाउँछौं । कालभैरव पनि नचाइन्छ ।

काठमाडौँको इन्द्रजात्रामा बेग्लै रथहरु हुन्छन् । पालुङको इन्द्रजात्रामा रथ हुँदैन । देवीहरु नचाइन्छ । र, उनीहरुलाई बोकाको भोग दिइन्छ । देवीहरुले बोकाको भोग खान्छन् । देवी नाच्नेहरुले काम्ने गर्छन् । तान्त्रिक विधिबाट पुजा हुन्छ । देवीहरुले भोग खाएपछि त्यही प्रसाद पकाएर हामी भोज खान्छौं । र, देउतालाई अब अर्काे वर्षसम्मको लागि बसिदिन अनुरोध गर्दछौं । पालुङका नेवारहरु धेरै पहिला काठमाडौँबाट आएका हुन भन्ने किंवदन्ती छ । काठमाडौँबाट बाहिर गएका अन्य स्थानका नेवारहरुले इन्द्रजात्रा मनाउँछन् जस्तो लाग्दैन । तर, हामीहरु चै मनाउने गर्छाैं ।

पालुङमा घोडेजात्रा पनि मनाइन्छ । पालुङमा अघिल्लो दिन घोडेजात्रा मनाइन्छ, काठमाडौँमा भोलिपल्ट । र, इन्द्रजात्रा भने अघिल्लो दिन काठमाडौँमा र भोलिपल्ट पालुङमा मनाउने गरिन्छ । किन यसरी एक दिन अघि वा पछि मनाइन्छ भन्ने चाही मलाई थाहा भएन । पालुङमा हामी ८० देखि ९० घर नेवार छौं । इन्द्रजात्राको दिन विहान सबैले घरघरबाट पुजा लानुपर्छ । त्यसमा पाँचवटा देवीलाई ५ वटा अण्डा लग्नै पर्छ । छ्याङ पनि लाने गरिन्छ । समयबजी भुटेर र फलफूल राखेर लानुपर्छ । हाम्रो कालाभैरव गुठी छ । अर्काे ३ वर्षे जात्रा पनि छ । यी ५ वटै देवीको ५ वटा रथ पनि छ । त्यो ठूलो जात्रा हो । पुजारी नेवारहरु नै हुन्छन् । पुजारीहरु विहानैदेखि भोकै बसेका हुन्छन् ।

दिउसो ३ बजेदेखि लाखे नचाउने, ख्या नचाउने, राजारानी नचाउने गरिन्छ । हाम्रो देउता कामिरहेको हुन्छ । उनीहरुलाई ल्याएर मुकुट लगाइन्छ । अनि १ घण्टाजति नचाइन्छ । नाच्दै गर्दा देउताले घरघरबाट ल्याएको अण्डा खान्छन् । आ–आफ्ना देवीहरुलाई देउताले नै अण्डा दिन्छन् । आफ्ना देवीहरुलाई ५÷१० वटा अण्डा फुटाएर दिन्छन् । देउता आफैले पनि ५/१० वटा अण्डा खान्छन् । नाच्दा नाच्दा थकाइ लागेपछि देउताले जलको रुपमा रक्सी खान्छन्, अण्डा पनि खान्छन् । अन्तिममा एउटा बोका काटिन्छ । सबै देवीले त्यही एउटा बोकाको भोग खान्छन् ।

निरोज प्रधान

बोका भैरवले काट्छन्, सुरुमा गणेशले भोग खान्छन् । त्यसपछि सबै देवीले पालैपालो भोग खान्छन् । भोग खान लागेपछि देवीले बोका छोड्दै छोड्दैनन् । ८–१० जनाले बोका तान्नुपर्छ र त्यति नै जनाले देउता समाएर तान्नुपर्छ । अनि मात्रै भोग छुटाउन सकिन्छ । हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन । कहिल्यै रक्सी नखानेले पनि रक्सी खान्छन् । भोज खादावर्दा रातिको १० जति बजिसक्छ । देउतालाई भने साझ ७ बजेतिर विदा गरिन्छ । पालुङको नेवार गाउँको बीचमा डबली छ, नाच त्यही हुने हो । डबली २ वटा छन् ।

(निरोज प्रधानसंगको कुराकानीमा आधारित)

पालिका प्रेस
थप जानकारी