काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । बिदामा बस्न भनिएका अधिकारी कार्यालयमा आउने खबरसँगै कार्यकक्षमा नै ताला लगाएको हो ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै आफ्नै सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन गरेका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न भनेका थिए ।  सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा गठित छानबिन समितिले छानबिन नसकिन्जेल कार्यालयमा हाजिर नहुन भनेकोमा सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताला लगाउन निर्देशन दिएको हो ।

‘प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर देखिई सकेपछि छानबिन चलिरहेको क्रममा फर्किने भन्ने कुरा हुँदैन’ बालेनका स्वकीय सचिव भूपदेव साहले प्रशासनलाई बताए ।  ‘कानुनअनुसार छानबिन भइरहेको बेला उहाँको कार्यकक्ष खुल्ने भन्ने कुरै हुँदैन’ स्वकीय सचिव साहले भने ।

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेकोमा प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका थिए ।  विश्वास गरेकै प्रमुख प्रशासकीय अधिकृतको संलग्नता देखिएपछि क्रुद्ध बनेका मेयर बालेनले अधिकारीलाई थुनी कारबाही गर्न गृहमन्त्रीसमेतलाई भनेका थिए । महानगरद्वारा गठित छानबिन समितिले अहिले अनुसन्धान गरिरहेको छ ।

पालिका प्रेस
थप जानकारी