मकवानपुरमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरका अनुसार चालु आर्थिक वर्षको सात महिनामा १५ हजार ३३९ जनाले सेवा लिएका छन् । जसमा महिला ७ हजार ७८७ र पुरुष ७ हजार ५५२ जनाले आयुर्वेदसम्बन्धी सेवा लिएका हुन् ।

चालु आवको सात महिनामा ५ हजार ५२९ महिलासहित १० हजार ७८९ जना नयाँ सेवाग्राही थपिएका छन् । चार हजार ५५० जना सेवाग्राही पुनरावृत्त हुनुभएको तथ्याङ्क छ । नयाँ र पुनरावृत्त भएका सेवाग्राहीको तथ्याङ्कले आयुर्वेदप्रति आकर्षण बढ्दै गएको देखिन्छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरका आयुर्वेद चिकित्सक डा.ललिता पाण्डेका अनुसार ६ महिना उमेर समूहको ३३ जना, ७ देखि ११ महिना सम्मको १७८ जना, १ वर्षदेखि ४ वर्षसम्मको ३७९, ५ वर्षदेखि १६ वर्षसम्मको ५४३ जनाले सेवा लिनुभएको हो । त्यस्तै, १७ देखि ५९ वर्ष उमेर समूहका ८ हजार ४७३ जना र ६० वर्षमाथि उमेर समूहका ५ हजार ७३३ जनाले सेवा लिनुभएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा १४ हजार ७१५ जनाले बहिरङ्ग सेवा, २ हजार ४७ जनाले पञ्चकर्म र पूर्वकर्म सेवा, २७५ जनाले शल्य चिकित्सक सेवा, एक हजार ४२१ जनाले जेष्ठ नागरिक सेवा लिनुभएको हो । दुई सय ६५ जनाले स्तनपायी आमा तथा शिशु सेवा, एक हजार ४५१ जनाले फिजियोथेरापी सेवा, १ हजार १९६ जनाले अकुपंञ्चर सेवा, एक हजार ३०३ जनाले प्रयोगशाला (ल्याब) सेवा र ९२४ जनालाई योग सेवा दिइएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर प्रमुख डा. पाण्डेका अनुसार विगतभन्दा दिन प्रतिदिन आयुर्वेदप्रति सेवाग्रहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधीले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेषगरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुःखाइ, पायल्स, रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको पाण्डेको भनाइ छ । केन्द्रमार्फत् नेपाल सरकारले निर्धारण गरेको २३ थरीका औषधी निःशुल्क वितरण गरिएको छ ।

गत आर्थिक वर्षमा १४ हजार १५५ महिलासहित २६ हजार ८९४ जनाले सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रले बहिरङ्ग सेवा, निःशुल्क औषधी, पञ्चकर्म र पूर्वकर्म, शल्य चिकित्सा, ज्येष्ठ नागरिक, स्तनपायी आमा तथा शिशु, फिजियोथेरापी, अकुपंञ्चर, प्रयोगशाला (ल्याब), योगलगायतको सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

जिल्लामा हाल छ वटा नागरिक आरोग्य सेवा केन्द्र र तीन वटा आयुर्वेद औषधालयमार्फत् सेवा प्रदान गरिँदै आएको छ । मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश, बागमती र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छ ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नं. १५ चुरियामाई, हेटौँडा–१७ मा हटिया र राक्सिराङको काँकडामा आयुर्वेध औषधालयमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरका कविराज निरीक्षक विनोदकुमार साहले जानकारी दिनुभयो । सो क्षेत्रमा वाथ, छालासम्बन्धी समस्या धेरैमा हुनेगरेको उहाँको भनाइ छ । गोर्खापत्रबाट ।

पालिका प्रेस
थप जानकारी