थाहा नगरपालिकामा आर्थिक वर्ष २०८१।८२ का लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गरिएको छ । सोमबार नगर कार्यपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख विष्णु विष्ट र प्रप्रअ कृष्ण गिरीबीच कार्यसम्पादन करार भएको हो ।

सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावली, निजामती सेवा ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन र नेपाल सरकारद्वारा समयसमयमा जारी निर्देशन र परिपत्रहरुमा आधारित भई प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा आर्थिक वर्षभरि सम्पादन गर्ने कार्यहरुको  सम्बन्धमा नगरप्रमुखसँग कार्यसम्पादन करार गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए ।

थाहा नगरपालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएसँगै प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरु सहभागी उक्त कार्यक्रममा शाखा प्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौतामा हस्ताक्षरअघि शाखा प्रमुखहरुले आफू र आफ्नो शाखाबाट वर्षभरिमा सम्पादन हुने  कार्यहरुको बारेमा जानकारी गराउँदै करार पत्र वाचन गरेका थिए ।

 

नगरको संगठनात्मक संरचना अनुसार शाखा तथा कार्यक्रम प्रमुखहरुले कार्यसम्पादन करार गरेको नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नवीन खालिङले जानकारी दिए ।

थाहा नगरपालिकाको नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेटको आधारमा शाखाहरुले तयार पारेको आव २०८१।८२ को वार्षिक कार्ययोजना पनि सोमबार नै स्वीकृत गरिएको छ । शाखा प्रमुखहरुले तयार पारेको कार्ययोजना प्रमुख प्रशासकीय अधिकृत गिरीको सिफारिसमा नगर प्रमुख विष्टले स्वीकृत गरेका हुन् ।

कार्यसम्पादन करार र वार्षिक कार्ययोजनाको स्वीकृतिपछि अब उक्त दस्तावेजहरुको आधारमा आव २०८१।८२ को कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै थाहा नगरपालिकाका प्रमुख विष्टले जनताको अपेक्षा, जनप्रतिनिधिहरुको चाहना र कर्मचारीहरुको ज्ञान, कार्यकुशलता, सक्षमता र अनुभव एकाकार हुँदा विकासको गति तीब्र हुने विश्वास व्यक्त गरे । उनले कार्यसम्पादन करारपत्र प्रतिवद्धताको अर्को रुप भएकोले  आफूले हस्ताक्षर गरेको प्रतिवद्धता अनुसार कार्य गर्न आग्रह गर्दै चौमासिक रुपमा त्यसको समीक्षा गरिनेसमेत बताए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नगर उपप्रमुख भरत गोपालीले शुसासन नै विकासको पहिलो आधार भएकोले यसतर्फ सदैव सचेत रहन कर्मचारीहरुलाई आग्रह गरे । ‘थाहा नगरको विकास तपाईंहरुको कार्यकुशलताबाट प्रतिविम्बित हुन्छ, तपाईंहरु थाहा नगरको समग्र विकासका क्षेत्रहरुको प्रमुख सारथी हुनुहुन्छ’ उनले भने ।

पालिका प्रेस
थप जानकारी