०७८ तिहारको भाइटीकाको दिन । सबै घरपरिवारसँग रमाइरहेका थिए । भाइटीकाको अघिल्लो रात शिवराज नगरपालिका वडा नम्बर ३ बलुहवाकी चिन्की थारुको घरमा आगलागी भयो । आगलागीका कारण भाइटीकाको पर्वका लागि जुटाइएको खानेकुरा सबै जले । घरको पनि अधिकांश भाग जल्यो । श्रीमान्को मृत्युपछि उनलाई आर्थिक अभावले चापेको थियो । त्यसमाथि तिहारको दिन घरमा रहेका खानेकुरा जलेपछि केही नहुँदाको पीडामा थिइन् । वडाध्यक्ष टेकलाल सापकोटाले उनलाई तिहारको दिन व्यक्तिगत नगद ५ हजार रुपैयाँ सहयोग गरे । त्यही रकमबाट उनले तिहार कटाइन् ।

शिवराज नगरपालिका वडा नम्बर ३ सोनवर्र्सीका मटेलु रैदासको उपचारका क्रममा निधन भयो । दैनिक मजदुर गरेर जीविकोपार्जन गर्ने रैदासको काजकिरिया गर्न आर्थिक अभाव हुँदा पारिवार सबै निराश थिए । श्रीमान्को मृत्यु र छोरा अशक्त हुँदा बेसहारा बनेका पीडित परिवारलाई वडाध्यक्ष सापकोटाले राहत उपलब्ध गराए । विपन्न परिवारलाई कसैको सहारा नभएपछि वडाध्यक्षले पीडितको घरमै पुगेर नगद १० हजार १ सय रुपैयाँ सहयोग गरे । रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका रैदास परिवारलाई वडाध्यक्षले सहयोग गरेपछि काजकिरिया सम्पन्न भयो । यस्तै, मदवाका सुकबहादुर राहु मगरको निधन भयो । उनको निधनपछि आर्थिक अभावले परिवारलाई काजकिरिया गर्नसमेत निकै कष्ट भयो । घरमा खान केही सामग्री छैन । जीर्णावस्थाको घर कुन बेला भत्कने हो, थाहा छैन ।

अध्यक्ष सापकोटाले व्यक्तिगत रूपमा नगद ५ हजार १ सय र ५० किलो चामल सहयोग गरे । मृतक मगरकी छोरीलाई कक्षा ११÷१२ पढ्दा लाग्ने सम्पूर्ण शुल्कसमेत बेहोर्ने प्रतिबद्धता जनाए । उनको घरमा जस्तापाता लगाइदिने घोषणासमेत गरे । सामाजिक सेवा गरिरहेका वडाध्यक्ष सापकोटाका प्रतिनिधि हुन् । वडा अध्यक्षमा निर्वाचित भएपछि सरकारले दिएको सम्पूर्ण सेवा–सुविधा सामाजिक क्रियाकलापमा खर्च गरिरहेका छन् । सरकारले दिएको तलबले चनई स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि १५ हजार, स्र्वगद्वारी गुरुकुल पाठशालालाई ५१ हजार, नयाँ बस्तीमा रहेको दुर्गा भगवती माविलाई ५१ हजार, देउराली आधारभूत विद्यालयलाई २५ हजार, सुपादेउराली मन्दिरलाई ३१ हजार, निःसन्तान एक दम्पतीलाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, आगलागीपीडित, विपन्न वर्गका विद्यार्थी, गरिब, असहायलाई न्याना कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असहाय बिरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा उनले सरकारबाट पाउने रकम खर्चिंदै आएका छन् । सापकोटाले वार्षिक रूपमा व्यक्तिगत ३ लाख रुपैयाँ बराबर रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । सामान्य परिवारका उनी अहिले नागरिकको सेवामा तल्लीन छन् । ०७४ अघि व्यापार, व्यवसायमा रहेका उनी ठूलो मतसहित वडाध्यक्षमा निर्वाचित भएका थिए । सुरुका दिनमा नागरिकले वडाध्यक्षले कस्तो काम गर्ला ? गाउँमा सडक बन्ला÷ नबन्ला ? शिक्षामा सुधार आउला÷नआउला ? किसान सधैँ पछाडि पर्ने हो कि जस्ता प्रश्न गर्थे । वडाध्यक्षलाई जनप्रतिनिधि भएपछि कसरी काम गर्ने, नागरिकसँग गरेका वाचा कसरी पूरा गर्ने, अन्य दलका साथीहरूले सहयोग गर्लान् कि नगर्लान् ? अनेकौँ प्रश्न मनमा उब्जिएको उनी सुनाउँछन् ।

तर, सापकोटाले जनप्रतिनिधि हुनुको उदाहरण पेस गरेका छन् । कपिलवस्तुको खरेन्द्रपुरका सापकोटा वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएपछि आफ्नो छँदाखाँदाको व्यापार व्यवसाय छाडेर जनप्रतिनिधिको रूपमा काम गरिरहेका छन् । एमालेबाट वडाध्यक्षमा निर्वाचित उनी अहिले नगरकै उत्कृष्ट वडाको रूपमा काम गरिरहेका छन् । वडाको सडक, कृषि, शिक्षा विकासमा कटिबद्ध रहेका उनी आगामी निर्वाचनको विषयमा केही बोलेका छैनन् । छोटो समय राजनीतिमा पहुँच बनाएका सापकोटाका समर्थकले पुनः वडाध्यक्ष उठ्न आग्रह गरिरहेका छन् । ‘नागरिकको सेवा गर्ने अवसर पाएको छु । सक्दो दुःखी, गरिबलाई सहयोग गरिरहेको छु’, सापकोटा भन्छन्, ‘निर्वाचन आउँदा पार्टीले मूल्यांकन गर्ला ।’ शिवराज नगरपालिकाभित्र रहेका ११ वटा वडाध्यक्षमध्ये तलब सामाजिक क्षेत्रमा खर्च गर्ने सापकोटा मात्रै हुन् । गत निर्वाचनताका अध्यक्षले आफूले पाउने सेवा–सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

पालिका प्रेस
थप जानकारी