घर एउटा यस्तो ठाउँ हो, जहाँ मन बस्छ । तन पनि बसिहाल्छ । आँखाले देख्दा घरभित्र मनहरू बस्छन्, तर मनले देख्दा मनहरूभित्र घरहरू बस्दारहेछन् । त्यसैले त होला सायद, कसैलाई खुशी बिसाउनु छ भने भन्छ–‘म घर जान्छु ।’ र, घर सम्झन्छ । अनि मान्छे आफ्नो आर्थिक अवस्था दरबिलो पार्नका लागि पनि भन्छ–‘घर छोड्छु ।’
घर सुख दुःखको सहारा हो ।

भनिन्छ नि, मान्छे बसेन भने घर पनि चाँडै भत्किन्छ रे । घरसँगै मन भत्किन्छ, तन बुढो हुन्छ । मान्छेलाई घरले नै परिपक्व बनाउँछ । बोलीचालीको उक्ती नै छ, घर बनाएपछि मान्छेमा परिपक्व आउँछ रे । मान्छेले आफूलाई सबैभन्दा सुरक्षित महसुस घरभित्रै गर्छ । त्यसैले त होला सायद घर हाम्रो मनभित्र बस्नेरहेछ अनि हामी घरभित्र ।

घर छोडेर संसारको कुना कुनामा मानिसहरू धन कमाउन पुग्छन् । ज्ञान, धन, सीप र शिक्षा हासिल गर्न पुग्छन् । तर उनीहरू सञ्चो, बिसन्चो हुँदा पनि घर सम्झन्छन् । अलिकति सपनाले छुँदा पनि घर सम्झन्छन् । बरु मर्नै परे पनि घरैमा मरौं भन्छन् । घर साँचै उनीहरूको मनमा नहुँदो हो त, उनीहरू घरैमा मर्ने सपना सायदै देख्दैनथे ।

अहिले घरहरु फेरिएका छन् । बुढा घरहरुले तन छोड्न छाडेका छन् । टेकोको भरमा उभिएका घरहरु बर्खामा धरमर–धरमर हुन्छन् । मक्किएका ति घरका छानामा कुरोको बोट ढकमक्क फुलेका छन् । वसन्त ऋतुले छपक्क पारेको यो बेलामा बुढा–बुढा घरहरुलाई हरियाली मौसमले हँसिलो त बनाएका छन् । तर, बुढा घरका तन्नेरीहरुले गाउँका घरहरु क्रमशः छोडिरहेका छन् ।

प्रस्तुत छ, हाम्रा पालिका प्रेसका फोटो पत्रकार विश्व लामाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा कैद गरेर पठाउनु भएको वसन्त ऋतुमा देखिएका घरहरु ।

फोटो फिचर:

विश्व बहादुर लामा
lamabeesuu@gmail.com
थप जानकारी