जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ का नरवीर कामी बालविवाह गर्दा धेरै दुःख भोग्नुपरेको बताउँछन् । उनले ०५५ मा १६ वर्षको उमेरमै १३ वर्षीया किशोरीसँग बालविवाह गरेका थिए । उनले भने, ‘विवाह गरेपछि १४ वर्षको उमेरमा श्रीमती गर्भवती भइन् । प्रजनन क्षमता परिपक्व नभएर गर्भवती हुँदा बच्चा र श्रीमती दुवै गुमाउनुपर्दा अहिले पश्चत्ताप गरिरहेको छु ।’

बालविवाह गर्दा धेरै दुःख भोग्नुपरेको र शिक्षा, स्वास्थ्यबाट वञ्चित हुनुपरेको उनको गुनासो छ । बालविवाहका कारण श्रीमतीको निधन भएपछि २०६० मा पुनः दोस्रो विवाह गर्नुपर्ने बाध्यता आइलागेको उनले सुनाए । पहिलो बालविवाहबाट भोगेको समस्याका कारण दोस्रो विवाह २० वर्षमाथि उमेर पुगेकी किशोरीसँग विवाह गरेको उनले बताए । उनले भने, ‘अहिले घरमा छोराछोरी छन् । उनीहरूको उमेर नपुगी विवाह नगर्ने अठोट लिएको छु । छोराछोरीलाई पनि उमेर नपुगी विवाह गर्नुहँुदैन भनेर सम्झाउँदै आएको छु ।’

सोही वडाकी धर्मा सार्कीले १३ वर्षको उमेरै विवाह गर्दा दुःख पाएको बताइन् । उनले भनिन्, ‘उमेर नपुग्दै विवाह गरियो । विवाहपछि बच्चा जन्माउनुपर्ने रहेछ । प्रजनन क्षमता वृद्धि नहँुदै बच्चा जन्माउँदा तीन वटा बच्चा महिना नपुग्दै खसे । काठमाडौं गएर उपचार गर्नुप¥यो । वालविवाह गर्दा निकै दुःखकष्ट भोग्नुपरेकाले अहिले पश्चत्ताप मात्र हुन्छ ।’ बालविवाहको घाउले घोचिरहेकाले आप्mना सन्ताको सानै उमेरमा विवाह नगर्ने योजना बनाएको उनले बताइन् ।

यी कनकासुन्दरी गाउँपालिकाको प्रतिनिधिमूलक बालविवाहका घटना हुन् । यो पालिका ८ वडामा विभाजित छ । पालिकाभित्र दलित, बाहुन, क्षेत्रीको बसोबास छ । बाहुन, क्षेत्रीभन्दा दलित बस्तीमा बालविवाह बढी हुने गरेको स्थानीय बताउँछन् । समाज, गाउँघरमा बालविवाह यत्रतत्र हुने गरेको सुनिए पनि प्रहरीमा उजुरी नआउने गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द बताउँछन् । प्रहरीमा बालविवाहको उजुरी नआए पनि समाजमा बालविवाह हुने गरेको उदाहरण २० वर्षमुनिका गर्भवती किशोरी स्वास्थ्य संस्थामा गर्भ चेकजाँच गर्न आउने गरेकोबाट पुष्टि हुने स्वास्थ्यकर्मी बताउँछन् । गत वर्ष जुम्लाका ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको थियो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा जुम्लाका ८ वटै स्थानीय तहका ८६० जना २० वर्षमुनिका बालिका गर्भवती भएका थिए ।

आर्थिक वर्ष ०७६/७७ मा जिल्लाभर ८५५ जना २० वर्षमुनिका किशोरी आमा बनेको तथ्यांक छ । जुम्लामा हालसम्म बालविवाहको यकिन तथ्यांक नभए पनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीको संख्या अचाक्ली बढेको छ । शिक्षा, चेतना अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ ।

सोही कारण सानै उमेरमा बच्चा जन्माउने, आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको संख्या कुल ८६० जना रहेकामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी छन् । पातारासी गाउँपालिकामा १३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए । गत वर्षमा १८० जनाले निकै कम तौल भएका बच्चा जन्माएका छन् भने २० वर्षमाथिका ३७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् ।

उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको छ । बालविवाह न्यूनीकरण गर्न कनकासुन्दरी गाउँपालिकाका स्थानीय बालविवाहमुक्त गाउँ बनाउने अभियानमा जुटेका छन् । पहिले अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधि दुरुपयोगले बुझ पचाएरै विवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेरै भए पनि गाउँमा बालविवाह रोक्ने अभियान चलाएको कनकासुन्दरी वडा नम्बर ४ का वडा सदस्य सिंहराज सार्कीले बताए । उनले भने, ‘अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौँ । आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालले बालविवाहमुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटक–पटक बालविवाहका असर, कानुनी सजाय, ढिलो बिहे गर्दाका फाइदाबारे सचेत बनाउँदै आएको छ । बालविवाह रोक्न निगरानी समिति बनाएर काम थालिएको छ ।

बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै वहिष्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी वडा नम्बर ६ का लालु नेपालीले बताए । दलित समुदायमा बालविवाह बढी भएकाले कनकासुन्दरीका दलित समुदाय अहिले बालविवाह रोक्न अग्रसर भएको उनको भनाइ छ । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का दर्जनाँै बस्तीलाई बालविवाहमुक्त बनाउन स्थानीय जुटेका छन् । कनकासुन्दरीका ४, ५ र ६ नम्बर वडामा बालविवाह तथा छाउपडी न्यूनीकरणका लागि अन्तरक्रिया गरिँदै आएको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेरबहादुर रोकायाले बताए । विगतको तुलनामा छाउपडी कम भए पनि बढ्दो बालविवाहलाई रोक्न स्थानीयले अभियानै सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

उनका अनुसार क्याड नेपालले २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा बालविवाह र छाउपडी प्रथा न्यूनीकरणमा काम गर्दै आएको छ । दुर्गम बस्तीलाई बालविवाहमुक्त गर्ने उद्देश्यले प्लानको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणमा सिंजा क्षेत्रमा विभिन्न कार्यक्रम भइरहेका छन् । आफ्ना बालबालिकाप्रति गैरजिम्मेवार अभिभावकै कारण पनि बालविवाह बढेको पाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग, फोन, म्यासेन्जरजस्ता प्रविधिको दुरुपयोगले बालबालिका बिग्रेका छन् । अझ गाउँमा काममै बढी ध्यान दिने, छोराछोरीलाई फोन दिएर घरभन्दा बाहिर पढ्न पठाउने तर निगरानी नगर्दा बालविवाह बढेको कनकासुन्दरी गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख दीपेन्द्र उपाध्यायले बताए । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिर्खबहादुर खत्रीले भने, ‘बालविवाह र छुईप्रथा सामाजिक कुसंस्कार हुन् । स्थानीयले नै समाजमा उत्पन्न गरेका समस्या भएकाले समुदायबाट न्यूनीकरण गर्दै निर्र्मूल गर्न आवश्यक छ ।’

पालिका प्रेस
थप जानकारी