बिहान झिसमिसेमा उठेर लोटामा पानी लिएर खेततर्फ लाग्छन् । उज्यालो हुनेबित्तिकै कसैले देख्छ कि भन्ने डरले सताउँछ । निद्राले च्यापे पनि झिसमिसेमा शौचका लागि खेतमा जानु आफ्नो बाध्यता रहेको उनले बताए । रूपन्देहीको सम्मरीमाई–७, रामनगरका ३७ वर्षीय राजाराम मौर्यलाई दुई वर्षयता खेतमा शौच गर्ने बानी परेको छ ।

उनका पाँच दाजुभाइ छन् । सगोलमा छँदा घरमा रहेको एउटा शौचालय प्रयोग गरिरहेको उनले बताए । ‘अलग्गिएको दुई वर्ष भयो,’ उनले भने, ‘अहिले शौचालय बनाउन सकिएको छैन ।’ उनकी श्रीमती किरण र ६ वर्षीय छोरासमेत शौच गर्न खेतमै पुग्ने गरेका छन् ।

किरण गर्भवती छन् । उनलाई पेट दुख्ने, धेरै खाना खाँदा पटक–पटक शौच जानुपर्ने हुन्छ । घरमा शौचालयको सुविधा नहुँदा साँझमा प्रायः खाना नखाने उनले सुनाइन् । ‘शौच गर्न घरबाहिर जानु बाध्यता हो,’ उनले भनिन्, ‘लाज, अप्ठ्यारो र गाली तीनवटै कुरा सहेर दिनहुँ शौच गर्न जानुपर्छ ।’ उनको माइती भारतमा हो । उता घरमै सबै सुविधा रहेको उनले सुनाइन् । यहाँ आएपछि ज्याला मजदुरीकै भरले जिन्दगी चलिरहेको उनले बताइन् । छाक टार्नकै लागि हातमा फोरा उठाएर काम गर्ने श्रीमान्लाई शौचालय बनाउन दबाब दिन नसक्ने उनले बताइन् ।

छिमेकी माया मुराउको पीडा पनि उस्तै छ । १५ वर्ष भयो उनी विवाह भई आएको । आएदेखि नै खेतलाई शौचालयका रूपमा प्रयोग गरिरहेको उनले बताइन् । ‘विवाह भएर आउँदा नै शौचालयविहीन घर थियो,’ उनले भनिन्, ‘न घर राम्रो बनाउन सकियो, न त शौचालय निर्माण गर्न ।’ अहिले छोराछोरी ठूला भएको र विद्यालयमा शौचालयबारे पढेर आउँदा घरमा सुविधा नभएकाले पीर मान्ने गरेको मुराउले बताइन् । उनले आफ्नो भएको थोरै जमिनलाई बाँझो राखी शौचका लागि प्रयोग गर्न बाध्य रहेको सुनाइन् ।

खुला दिसामुक्त घोषणा गरिएको सम्मरीमाईस्थित रामनगरका अधिकांश घरमा शौचालय छैनन् । उनीहरू शौच गर्न घरको नजिक वा केही पर रहेका आफ्ना खेतमा जान्छन् । रातमा बत्ती नहुँदाको डर हुन्छ भने अन्य समयमा कसैले देख्ला भन्ने चिन्ता । ज्याला मजदुरीमा जीवन निर्वाह गरिरहेको र केहीले बानी परेकाले पनि शौचालय नबनाइकन खेतको भर पर्ने गरेका छन् । खुला आकाशमुनि शौच गर्दा झाडापखाला, जन्डिस, टाइफाइड र हैजाजस्तो रोग लाग्न सक्ने लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । उनले तराई क्षेत्रका मानिसमा एक किसिमको पुरानो परम्पराजस्तो बसेकाले उनीहरू शौचालय बनाउने विषयमा हेलचेक्र्याइँ गर्ने गरेको बताए । डा. थापाले स्वास्थ्यमा समस्या आउन नदिन शौचालयमै शौच गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने जनाए ।

गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले आफू निर्वाचित हुनुअगावै गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएको बताए । उनले पहिलेका सांसद तथा मन्त्रीले कुन आधारमा पालिकालाई खुला दिसामुक्त घोषणा गरे भन्नेबारे जानकारी नभएको भन्दै स्थानीयमा चेतना जगाउन नसक्दा समस्या परेको जनाए । ‘शिक्षित बनाउन सकौं भनेरै बजेट खर्च गरिरहेका छौं,’ उनले भने, ‘शिक्षामा कमी भएकाले शौचालय बनाउनुपर्छ, खुला क्षेत्रमा शौच गर्नु हुँदैन भन्ने कुरामा नागरिकमा अन्योल छ ।’ आफूले अन्य विकासमा जोड दिए पनि शौचालय निर्माणका विषयमा गम्भीर नहुनु गल्ती भएको स्वीकार गरे ।

पालिका प्रेस
थप जानकारी