व्यवस्थित ल्यान्डफिल साइट अभावमा संघीय राजधानी काठमाडौं बेलाबेला फोहोरले दुर्गन्धित हुन्छ । कुनै बेला महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा महानगरबासी दिक्क मान्छन् । तर, इलामको इलाम नगरपालिकाले भने फोहोर विर्सजनका लागि व्यवस्थित डम्पिङ साइट निर्माण देखि फोहोर व्यवस्थापनका अन्य वैज्ञानिक विधि अपनाइरहेको छ । जनप्रतिनिधि इलामलाई नमुना हरित नगरपालिका मात्र होइन, स्वच्छ पालिका बनाउन सफल भएका छन् ।

पहाडकी रानी भनेर परिचित इलाम नगरपालिका कुनै बेला बसाइँसराइ र अव्यवस्थित सहरीकरणले प्रदूषित हुने गर्दथ्यो । वन विनास, भूक्षय र जैविक विविधतामा ह्रास आउँदा प्रदूषित बन्ने बाटोमा थियो । तर, जनप्रतिनिधिको आगमनसँगै नगरपालिकाको मुहार फेरिएको छ । इलाम अहिले सरकारी, निजी र समुदाय स्तरमा भएको प्रयासले मुलुककै पहिलो हरित नगर बन्न सफल भएको वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ बताउँछन् ।

नगरपालिकालाई प्लास्टिकमुक्त, खुला दिसामुक्त, सफाइ र वातावरण संरक्षणजस्ता कार्यक्रमले हरित नगरको रणनीतिक योजनालाई सफल बनाएको छ । २८ भदौ ०६७ मा प्लास्टिकमुक्त क्षेत्रको घोषणा गर्दा नगरपालिकाले ०७५ साउनदेखि प्लास्टिक ग्लास बिक्री वितरणमा रोक लगाएको छ । नागरिकलाई घरमै कुहिने र नकुहिने फोहोर छुट्याउने डस्टविन वितरण र जनचेतना फैलाएर पनि नगरपालिकाले नगरको वातावरणलाई स्वच्छ राख्न सफलता पाउँदै गएको नगरपालिका प्रमुख महेश बस्नेतको भनाइ छ ।

यीबाहेक पनि नगरपालिकाले स्वच्छ वातावरणका लागि वडा नम्बर १० जौवारीदेखि वडा नम्बर १ रक्सेसम्मको मेची राजमार्ग क्षेत्रमा फोहोर संकलन, फोहोरमैला व्यवस्थाप ऐनविपरीत काम गर्नेलाई दण्ड जरिमाना, वडा नम्बर ९ स्थित खाल्डेमा ल्यान्डफिल साइट निर्माण, फोहोर व्यवस्थापनका लागि चार वटा ट्रयाक्टर तथा एउटा टिपर परिचालन, विद्यालय स्तरीय वातावरण क्लब गठन गरी विद्यालयमा सरसफाइ, ७५ प्रतिशत अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ ।

दिगो फोहोरमैला व्यवस्थापनमा सार्वजनिक–निजी साझेदारीद्वारा ‘कम्पोस्ट प्लान्ट’ स्थापना तथा सञ्चालनपछि नगरको सौन्दर्य अझ निखारिएको छ । कुहिने फोहोर संकलन गरेर कम्पोस्ट मल बनाउने गरिएको छ भने किसानलाई सहुलियत दरमा मल वितरण गरिएको हरित शान्ति अभियान इलामकी कोषाध्यक्ष सुनिता कर्माचार्यले बताइन् ।

खाल्डे ल्यान्डफिल साइटलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रस्ताव तयार गरिएको छ । १३ करोड लागतको प्रस्तावमध्ये आर्थिक वर्ष २०७८÷७९ मा ७ करोड रकम बराबरको निर्माण सम्पन्न गर्न ठेक्का लगाइएको छ । हरित नगरको रणनीतिक योजनामा वृक्षारोपणदेखि नागरिकको व्यवहार, सोच, संस्कार र सभ्यतामा सकारात्मक परिवर्तन ल्याउने क्रियाकलाप राखिएका छन् ।  पूर्वी जिल्ला इलामबाट सुरु भएको हरित नगर अभियान अहिले धेरै स्थानीय तहमा विस्तार हुँदै गएको छ । यसले स्वच्छ र समृद्ध नयाँ नेपाल निर्माणमा बल पुगेको छ । जनस्वास्थ्य, सामाजिक प्रतिष्ठा, विकास र समृद्धिको आधार स्तम्भका रूपमा रहेको सरसफाइ अभावमा दिगो विकासको परिकल्पना गर्न सकिँदैन । अभियानले वातावरणीय स्वच्छता कायम राख्दै इलामलाई आकर्षक पर्यटकीय नगरीका रूपमा स्थापित गर्न थप मद्दत पुगेको छ ।

पालिका प्रेस
थप जानकारी