भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत छोटो समयमा नै फेरिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै निवर्तमान प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटा सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गएका छन् । उनी भरतपुर महानगरपालिकामा आएको चार महिना भएपनि अधिकांश समय विदा लिएरै विताए ।

महानगरपालिकाको कार्यालयमा नै आएर चानचुन एक महिनाजति मात्रै उनले काम गरेको महानगरका कर्मचारी बताउँछन् । मेयर रेनु दाहालसँग कुरा नमिलेपछि सापकोटाले भरतपुरमा काम गर्न नरुचाएको स्रोत बताउँछ । उनले महानगरपालिकाले उपलब्ध गराएको सिम पनि लिन मानेनन् । उनी कार्यालय नआएपछि अधिकांश समयम निमित्त प्रमुख प्रशासकिय अधिकृतमा रुपमा महेन्द्र प्रसाद पौड्यालले महानगरको प्रशासन सम्हालेका थिए ।

सापकोटाको सरुवा भएपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट सह–सचिव नरेन्द्र कुमार राना भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर आउँदै छन् । उनको भरतपुरमा सरुवा भएको कागज आइसकेको महानगरकी सूचना अधिकारी मेनका पण्डितले जानकारी दिइन् । प्रमुख प्रशासकिय अधिकृत राना सम्भवत सोमबार कार्यालयमा हाजिर हुने बताइएको छ ।
पालिका प्रेस
थप जानकारी