सरकारले स्थानीय तहको वडाहरुको संख्या र सीमाना थपघटका लागि कडाई गर्न प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा वडाको सीमाना र संख्या हेरफेर गर्न अहिले स्थानीय तहको गाउँ वा नगर सभाको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था छ । अब ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप प्रक्रियाहरु तोकिएका छन् ।

अब वडाको सीमाना र संख्या परिवर्तन गर्दा जिल्ला समन्वय समिति संयोजक रहेको एक समितिले तोकिएका आधारमाथिको विश्लेषण गरेर प्रतिवेदन बनाउनुपर्नेछ । प्रस्तावित व्यवस्था अनुसार वडाको सीमाना र संख्या हेरफेर गर्न अब स्थानीय तहको गाउँ वा नगर सभाको बहुमतले मात्रै निर्णय गरेर हुनेछैन । मस्यौदा अनुसार नै ऐन संशोधन भएमा नगर वा गाउँ सभाका दुई तिहाई बहुमतले पारित गरेर मात्रै नेपाल सरकारसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह महाशाखा प्रमुख संयोजक रहेको समितिले यस्तो सिफारिस अध्ययन गरेर मन्त्रालयलाई निर्णयका लागि सिफारिस गर्नेछ । सिफारिस आएपछि संघीय सरकारले ६ महिनाभित्र वडाको सीमाना र संख्या फेनुपर्ने व्यवस्था अहिले ऐनमा छ ।

अहिले ऐनमा प्रदेश सरकारको परामर्शमा संघ सरकारले स्थानीय तहको नाम र केन्द्र तोक्ने व्यवस्था रहेककोमा प्रस्तावित विधेयकमा परामर्श दिने नभई सिफारिस नै गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । स्थानीय तहको नाम र केन्द्र हेरफेर भए त्यसो सूचना राजपत्रमा प्रकाशित गर्नुपर्ने प्रस्ताव पनि छ ।