मन्त्रिपरिषद्ले करिब पाँच वर्षअघि राजनीतिक सहमतिका आधारमा निर्णय गरेर प्रकाशन गरेको राजपत्रको सूचनाका कारण अब हुने निर्वाचनमा स्थानीय तहको संख्या ७ सय ५३ कि ७ सय ६६ हुने भन्नेमा बहस सुरु भएको छ । २०७४ जेठ ११ मा प्रकाशित राजपत्रको सूचनाअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा १३ स्थानीय तह थप गर्नुपर्छ । राजपत्र प्रकाशन भएको पाँच महिनापछि जारी स्थानीय सरकार सञ्चालन ऐनमा भने संख्या र सीमा हेरफेरका लागि चुनाव हुनुभन्दा एक वर्षअघि नै प्रस्ताव पेस गर्नुपर्ने उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचनाबमोजिम स्थानीय तहको सिमाना हेरेर, स्तरोन्नति र संख्या वृद्धिका सम्बन्धमा सुझाव पेस गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य सुरु गरेको छ । मन्त्रालयले यति बेलाको निर्णय अध्ययन गरेर छलफलका लागि प्रतिवेदन तयार पार्न उपसचिव तुलसी अर्याललाई जिम्मेवारी दिएको छ । संघीय मन्त्रालयका सचिव सुरेश अधिकारीले स्थानीय तहको संख्या थप, सिमाना हेरफेर र स्तरोन्नतिबारे राजनीतिक तहमा कुरा उठे पनि मन्त्रालयमा गहिरो ढंगले छलफल भइनसकेको बताए । ‘मन्त्रीज्यू बिरामी हुनुहुन्छ । उहाँ मन्त्रालय आएपछि के गर्ने भन्ने विषयमा छलफल गरेर टुंगोमा पुर्‍याइनेछ,’ उनले भने । मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड संक्रमण भएको छ । स्रोतका अनुसार मन्त्री श्रेष्ठ सकभर स्थानीय तह थप्ने मनस्थितिमा छन् ।

नगर र गाउँपालिका, विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न बालानन्द पौडेल संयोजक रहेको आयोगले सुरुमा ७ सय १९ पालिका सिफारिस गरेको थियो । पछि सरकारको अनुरोधमा त्यसमा थप गरेर ७४४ वटा बनाइएको थियो । आयोगले निर्धारण गरेको सिमाना र संख्याका विषयमा त्यतिले असन्तुष्टि मत्थर नभएपछि राजनीतिक सहमतिमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल बनाइएको थियो । त्यति बेला विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउनुपर्ने तथा साविक प्रदेश २ मा जनसंख्याका आधारमा पालिका हुनुपर्ने माग तीव्र रूपमा उठेको थियो । गच्छदार नेतृत्वको कार्यदले स्थानीय तह बढाउनुपर्ने तथा सीमा हेरफेर र स्तरोन्नति गर्नुपर्ने सुझाव दिएअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशन गरिएको थियो । त्यसपछि मधेस प्रदेशमा ९ वटा थपिएर कुल पालिका संख्या ७ सय ५३ पुगेको हो । अन्य प्रदेशमा निर्वाचन प्रक्रिया सुरु भइसकेको भन्दै अदालतले आदेश दिएपछि स्थानीय तह थप गर्ने प्रक्रिया स्थगन गरिएको थियो ।

अधिवक्ताद्वय मोहना अन्सारी र शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) ले राजपत्रको सूचनाअनुसार स्थानीय तह थप गरेर मात्र चुनाव गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । उनीहरूले शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर सूचना कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका हुन् । सांसद हृदयेश त्रिपाठीले गत साता वक्तव्य जारी गरेर राजपत्रको सूचना कार्यान्वयन गर्न माग गरेका थिए । संघीय मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलिया गच्छदार नेतृत्वको कार्यदलमा सदस्यसचिव थिए । अहिले प्रमुख निर्वाचन आयुक्त उनै थपलिया छन् । आयोगले ७ सय ५३ स्थानीय तहको चुनाव गराउन सरकारलाई प्रस्ताव गरिसकेको उल्लेख गर्दै उनले स्थानीय तह तत्काल थप्न कानुनी अड्चन आउन सक्ने बताए ।

२०७४ असोज २ मा जारी स्थानीय सरकार सञ्चालन ऐनमा चुनावको एक वर्षअघि प्रस्ताव गर्नुपर्ने व्यवस्थाका अलावा संख्या वा सिमाना हेरफेर गर्नुपरे त्यसबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरेर प्रदेश सरकारमा पठाउनुपर्ने उल्लेख छ । ऐनको दफा ४ मा प्रस्ताव प्राप्त भएको १५ दिनभित्र प्रदेश सरकारले सो प्रस्तावबमोजिम गाउँपालिका र नगरपालिकाको संख्या वा सिमाना हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।

स्थानीय तह हेरफेरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित हुँदा पहिलो चरणको स्थानीय चुनाव सकिएको थियो भने दोस्रो चरणका लागि प्रक्रिया सुरु भएको थियो । २०७४ वैशाख ३१ मा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लामा पहिलो चरणको निर्वाचन भएको थियो । साविक प्रदेश २ मा भने तेस्रो चरणमा असोज २ मा चुनाव भएको थियो ।

  • ऋषिराम पौड्याल, कान्तिपुरबाट
पालिका प्रेस
थप जानकारी