सेनेटरी प्याड खरिदमा डोटीको आदर्श गाउँपालिकाले अनियमितता गरेको खुलेको छ । ऐनविपरीत गाउँपालिकाले १२ लाख ४४ हजार ३६ रुपैयाँमा खरिद गर्नुपर्ने सेनेटरी प्याडमा अनियमितता गरेको पाइएको हो । यसअघि प्रतिथान ३२ रुपैयाँमा आफैं खरिद गरेको उही गुणस्तरको सेनेटरी प्याडमा गाउँपालिकाले अढाइ गुणा मूल्य हालेको हो ।

गाउँपालिकाले २०७७ असार २५ मा सिलबन्दी दरभाउका आधारमा १४ हजार ७ सय ९४ थान सेनिटरी प्याड प्रतिथान ३२ रुपैयाँका दरमा यशोदा फार्मेसीबाट खरिद गरेको थियो । तर १० दिनको फरकमा कोटेसनमार्फत प्रतिथान भ्याटबाहेक ७९ रुपैयाँका दरमा मेडियट सर्जिकल एन्ड सप्लायर्सबाट र अनुषा फार्मेसीबाट ७९.५ रुपैयाँका दरले ८ हजार ९ सय ७४ थान खरिद गरेको छ । ‘एउटै कार्यक्रमको रकमबाट एकै स्फेसिफिकेसनको सेनेटरी प्याड सिलबन्दी दरभाउ पत्रबाट ३२ रुपैयाँमा खरिद गरेकोमा १० दिनपछि फरक–फरक संस्थाबाट ७९ र ७९.५ रुपैयाँमा खरिद गर्दा गाउँपालिकालाई ४ लाख २३ हजार ५ सय ३५ रुपैयाँ व्ययभार भएको छ,’ महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउँदै प्रतिवेदनमा उल्लेख गरेको छ, ‘वार्षिक रूपमा प्रयोगमा ल्याउने गरी खरिद एवं वितरण गर्नुपर्नेमा सेनेटरी प्याड आर्थिक वर्षको अन्तिम महिनामा खरिद गर्दा विद्यार्थीले आवश्यकताअनुसार प्रयोग गर्न नपाउने स्थिति देखियो ।’

संघीय सरकारबाट सेनेटरी प्याड खरिदका लागि सबै स्थानीय तहलाई बजेट दिइएकोमा अन्य स्थानीय तहले सिलबन्दी बोलपत्र आह्वान गरी खरिद गरेका थिए । ‘१० दिनको अन्तरालभित्र सेनेटरी प्याड असमान मूल्यमा खरिद गर्नु न प्रक्रियागत रूपमा कानुनसम्मत छ, न आर्थिक मितव्ययिता अपनाइएको छ,’ लेखा परीक्षक अनन्त कठायतले भने । उनले असमान मूल्यमा बिक्री गर्ने फर्म र खरिद प्रक्रियामा संलग्न कर्मचारीको मिलेमतो स्पष्ट देखिएको ठोकुवा गरे ।

उता जनप्रतिनिधि र कर्मचारीहरूले भने एकअर्कालाई दोषी देखाउँदै पन्छिने प्रयास गरेका छन् । ‘यस सन्दर्भमा मलाई केही थाहा भएन, के भएको रहेछ बुझेर भन्छु×,’ गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले भने, ‘तपाईंले खबर गरेपछि मात्र यत्रो अन्तरमा खरिद भएको थाहा पाउँदै छु ।’

प्रमुख प्रशासकीय अधिकृत सुरज परियारले आर्थिक अनियमितता गर्ने उद्देश्य नभएको दाबी गरे । काम गर्ने क्रममा त्रुटि भएको हुन सक्ने बताउँदै अधिकृत परियारले तत्कालीन शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पदमराज भट्टबाट सिलबन्दी बोलपत्रबाट बचत भएको रकमले कोटेसनमा खरिद गर्ने राय आउँदा भुक्तानी दिएको तर्क गरे ।तर भट्टले भने आफू उक्त प्रक्रियामा संलग्न नरहेको दाबी गरिरहेका छन् । ‘सिलबन्दी बोलपत्र जारी गरेका बेला म थिएँ, कोटेसनबाट खरिद गर्दा गाउँपालिकावाट बिदा भइसकेको थिए,’ हाल सरुवा भएर जोरायल गाउँपालिका गएका भट्टले भने, ‘खरिद प्रक्रियामा शिक्षा शाखाको कुनै जिम्मेवारी नै हुन्न, कोटेसन माग्नेदेखि चेक काट्नेसम्मको काम हाकिम, योजना अधिकृत र लेखा अधिकृतले गर्छन् । अहिले हामीमाथि आरोप लगाउनु सरासर गलत हो ।’

आदर्श गाउँपालिकामा विभिन्न मालसामान खरिद प्रक्रियामा चरम लुट भइरहेको आरोप स्थानीय विजयराज ओझाले लगाए । उनले जनताका नाममा आएको रकम जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

पालिका प्रेस
थप जानकारी