• लेखकः चन्द्रबहादुर भुजेल  

पृष्ठभुमि:

उभौली-उद्यौली पर्व वास्तवमा प्रकृतिपुजकहरुको एउटा ठुलो पर्व हो। भुजेल जाती (भुजेल, घर्ती, खवास, निशेल थरहरु र यस अन्तरगतका सबै उपथरहरु) लगायत नेपालका आदिवासी जनजातीहरुले उभौली र उद्यौली गरि वर्षमा दुई पटक यो पर्व मनाउने गर्दछन। मानव जीवन लगायत सम्पूर्ण प्राणिहरुको जीवन प्रकृतिकै भरमा अडेको छ, प्रकृति विना कुनै पनि प्राणिको जीवन चल्न सक्दैन, प्रकृति विनास भएमा मानव जीवन लगाएत सम्पूर्ण प्राणिको जीवन ध्वस्त हुन्छ भन्ने ठानि हाम्रा पुर्खाहरुले प्रकृति प्रति भक्तिभाव देखायर आफ्ना पितृहरुको सम्मानमा मनाउदै आएको पर्व हो।

प्रकृतिपुजक भुजेलहरुले उभौली र उद्यौली गरि वर्षमा दुई पटक  सूर्य,  वायु, जल, जमिन र जंगलजस्ता प्रकृतिका पञ्चतत्वहरुलाई पूजा आराधना गर्दछन।भुजेल भाषामा यी पञ्चतत्वहरुलाई क्रमश न्याम, हाउसिरिङ्ग, ती, राङ्गसा, र फुई भनिन्छ।विभिन्न नामका धर्महरुको विकास नहुदा सम्म नेपालका सम्पूर्ण आदिवासीहरु प्रकृतिपुजक नै थिए।तर मानव जीवनको विकासको क्रममा विभिन्न धर्महरुको विकास भयो र सवै धर्मले आ-आफ्नो धर्म अनुसारको संस्कारको सुरुवात गरेका छन। कतिपय पुख्यौलि धर्म प्रकृतिपुजक भएकाहरु आजभोलि कुनै अमुक धर्म अपनाएको पनि पाईन्छ।

भुजेल जाती र उभौली पर्व

भुजेल जाती नेपालका ६० वटा आदिवासी जनजातीहरु मध्ये एक हो भन्ने कुरा वताईरहनु परेन। यो आदिवासी जनजातीको आफ्नै भाषा, संस्कार र संस्कृति छ। यो जातीको भाषालाई पुख्याल डुर (भुजेल कुरा) भनिन्छ।नेपालि भाषामा रुपान्तरण गर्दा यो भाषालाई भुजेल भाषा भनिन्छ। यो जातीको २२ पुस्ताले भुजि राज्यमा शासन गरेको, तत्कालिन भुजि राज्य हालको रूकुम, वागलुङ्ग, पर्वत र गुल्मि सम्म फैलिएको तर १३७२ मा गलकोट राज्यका तत्कालित राजा डुवरशीह मल्ल संगको युध्दमा हार भए पछि यो जातीको वसाईमा छिन्न विन्न भएको कुरा ईतिहासमा पाईन्छ।

यस जातीले अवलम्बन गर्दै आएको संस्कार संस्कृतिमा राज्यको एक भाषा एक धर्म र एक सस्कृतिको नीतिका कारणले गर्दा अन्य शक्तिशालि शासकहरुले अपनाएको धार्मिक सास्कृतिक प्रभाव पर्दै गईरहेको भएता पनि आजकल सचेत भुजेल युवा युवतिहरुले भने आफ्ना पुर्खाको परम्परालाई संरक्षणगरि आफ्नो जातीको पहिचान कायम राख्नु पर्छ भन्ने मान्यताका साथ यसको संरक्षणमा लागिपरिरहेका छन।

अन्य प्रकृतिपुजक जातीहरुले जस्तै भुजेल जातीले पनि वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व मनाईन्छ।त्यस दिनलाई चण्डि पूर्णिमा पनि भनिन्छ। यसै दिन भुजेल जातीले आफ्ना पितृहरुलाई संझेर गरिने पितृ पूजा वा कुल पूजा पनि गरिन्छ।यसै दिन पशुपालन राम्रो होस भनि गोठपूजा पनि गरिन्छ। यसको साथ साथै यस पूजामा माथि वताईए अनुसारका  सूर्य, वायु, जल, जमिन र जंगल जस्ता पञ्चतत्वहरुलाई  आफु, आफ्नो परिवार र समाज सवैको रक्षाका लागि पूजा आराधना गरिन्छ।

वैशाख शुक्ल पुर्णिमा देखि गर्मि मौशम सुरु हुने हुँदा माछा, चराचुरुङ्गि, किरा -फट्याङ्ग्रा,लगाएत मानव जाती पनि तल समथल स्थानवाट उभो तर्फ लाग्ने हुदा वैशाखे शुक्ल पूंर्णिमामा मनाईने पर्वलाई उभौली पर्व भनिन थालिएको हो। भुजेल जातीको प्राचिन थातथलो तत्कालिन भुजि राज्य र हालको वागलुङ्ग जिल्लाको पञ्चिम भागको ढोरपाटन नगरपालिकामा पर्ने विशाल ढोर उपत्यका क्षेत्रमा प्रसस्त हिँउ पर्ने हुदा हिउ पर्ने समय अर्थात मंसिरे शुक्ल पूर्णिमाका दिन देखि मानव वस्ति तल्लो भागमा (उधो) जस्तै वोवाङ्क, अधिकारि चौर, निसि, देविस्थान, राजकुत, भिमगिठरे, हालको म्याग्दि जिल्लामा पर्ने गुर्जा, ताकुम, खोरिया, रुकुम जिल्लाको तकसेरा लगायत विभिन्न स्थानमा सर्ने र गर्मि समयमा अर्थात वैशाखे शुक्ल पूर्णिमा देखि गर्मि मौशम सुरु भई हिउ पग्लने हुँदा पुन ढोरपाटनको विशाल उपत्याका गएर अर्थात उभो गएर आलु, स्याउ उत्पादन गर्न र पशु चरण गराउन (उभो लाग्ने) चलन अझै सम्म चलिरहेको छ।उभौलीको समयमा विद्यालय समेत माथिनै सार्ने र उद्यौली पछि विद्यालय पनि तल अर्थात उधो सार्ने चलन अझै सम्म यथावत पाईन्छ।

भुजेल जातीले उभौली  पूजा लाई एक पर्वको रुपमा मान्नुको उद्योश्य खडेरि नपरोस, अन्नवालि सप्रेर राम्रो होस, पशुपंक्षिले प्रशस्त लाभ दिउन, कसैलाईपनि रोग ब्याधि नलागोस, उभो तर्फ लाग्ने वा जाने क्रममा वाटोमा कुनै अनिष्ट नहोस भनि प्रकृतिका पंचतन्व र आफ्ना पितृहरुसंग अनुरोध गर्नु हो। यो उभौली पर्व पूर्ण रुपमा प्रकृति संग सम्बन्ध राख्नने पर्व हो भन्ने कुरा यस वाट स्पष्ट हुन्छ। यो उभौली पूजा गर्दा माथि वताईए अनुसार सूर्य, वायु, जल, जमिन र जंगल जस्ता पञ्चतत्वहरुलाई पूजा आरधान गरिन्छ।

यस उभौली पूजाको क्रममा मिठो मसिनो खाने, आफ्ना चेलि भेटि र ज्वाई भान्जाहरु लगायत साथ साथै प्रियजन, नजिकको नातेदार र आदरणीय ब्याक्तिहरुलाई आफ्नो घरमा वोलाई आफ्नो क्षमता अनुसारको मिष्ठान्न भोजन गराउने, आफु भन्दा ठुलाहरु संग आशिरवाद लिने कार्यका साथै धाटुनाच नाचेर यस पर्वलाई रमाईलो संग मनाईन्छ। यो उभौली पर्वमा पूजाको काम वैशाखे शुक्ल पूर्णिमाको दिन एक दिन मात्र हुन्छ तर माथि वताए अनुसार चेलिबेटि, ज्वाई-भान्जा, नजिकका ईष्टमित्र र आफ्ना आदरणीय ब्याक्तिहरुलाई वोलाउने र मिठो मसिनो खुवाउने अनि घाटुनाच नाचि रमाईलो गर्ने कार्य गरि एक हप्ता सम्म मनाउने गरिन्छ।उभौली वा उद्यौली पूजाको लागि भुजेल जातीको व्राओ (पूजा गर्न दक्ष ब्याक्ति) वाट गराईन्छ। यो पूजा सामुहिकरुपमा वा घर-घरमा पनि गर्ने चलन छ। घर घरमा गर्दा पूजा विधी जान्ने ज्वाई वा भान्जा भएमा निजलाईनै प्राथमिकता दिईन्छ।भुजेल भाषामा यो  पर्वलाई पुगाल पारिम भनिन्छ।

भुजेल जाती उधौली पर्व :

उद्यौली पर्व मंसरि शुक्ल पूर्णिमाको दिनमा पर्छ। यस पर्वमा पनि उभौली पर्वमा जस्तै नयाँ वालि भित्रियको उपलक्षमा प्रकृतिको पञ्चतत्व लाई धन्यवाद दिदै पूजाआराधना गर्ने, नया फलफूल र अन्न वालि पितृलाई चढाएर मात्र खान सुरु गर्ने र विशेषत अव हामिहरु उधो तर्फ लाग्दै छौ, हामिलाई वाटोमा अनिश्ट नहोस, कसैको स्वास्थ्यमा खरावि नहोस, तपाँई पितृहरुले हाम्रो रक्षा गरिदिनुस, प्रकृतिका सवै पन्चतत्वले हाम्रो कल्याण गरि दिनुहोस भनि प्रकृति र पितृलाई एक साथ पूजा आराधना गरिन्छ।

उभौली वा उद्यौली दुवै पर्वमा पितृ पूजा वा कुल पूजा गर्दा कुनै रुख मुनि वा ओडारमा वा कुनै ढुंगाहरु राखि थान वनाएर त्यसमा पूजा गरिन्छ।उभौली र उद्यौली दुवै पूजामा पूजाको विधि समान हुन्छ, मात्र समयको फरक हो। हिन्दू परम्परा वाट प्रभावित भएर होला एक दुई स्थानमा उभौली उद्यौली पूजाकालागि मन्दिर वनाएको पनि पाईन्छ।तर पनि यी दुवै पर्वमा गरिने पूजामा थानमा नै पूजा हुन्छ। यस्तो पूजामा कुनै भाकल गरिदैन।

सारांस:

  • माथि वताइएका पञ्चतत्व विना कुनै पनि जीव तथा वनस्पतिको जीवन यस पृथ्विमा संभव नभएको हुँदा प्रकृतिको पूजा गर्नु, प्रकृति प्रति भक्तिवान देखाउनु जस्ता कुरा र आजभोलिको समयमा वातावरण प्रदुषणको चिन्ता लिनु, जलवायु परिवर्तनको चिन्ता लिनु, खराव वातावरणवाट सृजना हुने दैवि प्रकोप वाट चिन्तित हुनु संग लगभग मिल्दो जुल्दो छ।
  • आफ्ना पितृहरुलाई कालान्तर सम्म संझनु, उनिहरुको पूजा आराधना गर्नु, नयाँवालि भित्र्रियपछि पितृलाई चढाएर मात्र आफुले खान सुरु गर्ने परम्परा आफैमा मानवताका प्रमाणहरु हुन।
  • यी पर्वहरुमा रमाईलोको लागि गित गाउनु, धाटु नाच नाच्नु र सम्मानका लागि छोरिचेलि, ईष्टमित्र र मान्यजनलाई वोलाएर भोजन गराउनु, ठुलावडाहरुसंग आशिरवाद लिनु राम्रा सामाजिक पक्षहरु हुन।
  • यी दुवै पर्वमा प्रकृतिका पञ्चतत्व लाई आस्थाका हिसावले पूजा आराधना गरि रक्षा गरिदिनु भनि वरदान माग्नु तर मलाई वा मेरो परिवारलाई यस्तो भएमा यस्तो बलि दिई पूजा गरिदिउला जस्ता फलको आशा गर्ने खालका भाकल गर्ने परम्परा नहुने हुदा यसलाई निश्वार्थरुपले प्रकृति र पितृको मान मर्यादा गर्नु  आफैमा राम्रो पक्ष मान्नु पर्छ।
  • समाजलाई नकरात्मक असर पुग्ने खालका कुने परम्परा भएमा त्यस्ता परम्परालाई अवश्य परिवर्तन गर्नु पर्छ।यदि कुनै पर्व वा परम्परा त्यस्ता भए हामि परिवर्तन पनि गरौला। तर यी उद्यौली र उभौली दुवै पर्वमा समाजलाई नकरात्मक असर पुग्ने कुनै अभ्यासहरु नभएकाले, हाम्रा पुर्खाहरुले अपनाउदै आएको उभौली र उद्यौली पर्वलाई मनाउदै हाम्रा पुर्खाहरुको सम्मान गर्नु र हाम्रो जातीको पहिचानलाई लोपहुन नदिनु नै हामि सवै भुजेलहरुको कर्तब्य हो भन्ने लाग्छ।

पुनश्च:

[यो लेख भुजेल समाज सेवा समिति-केन्द्रिय समितिका माहासचिव हिलारि वन्धु भुजेल ज्यू, भुजेल समाज सेवा समिति – केन्द्रिय समितिका  सदस्य तथा भुजेल भाषा, संस्कार, संस्कृतिका विज्ञ श्री रेशम भुजेल ज्यू, भुजेल वुध्दिजीवि परिषदका सदस्य द्वय रिता भुजेल ज्यू र डिक वहादुर भुजेल ज्यू को सहयोगमा तयार गरिएको हो।]

 

(-लेखक भुजेल मालेपाटन पोखरा निवासी हुन्।)