
हेटौंडामा भएको तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको टिमले हात पारेको छ । मंगलबार हेटौंडा–४,हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न भएको महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकाको महिला टिमलाई ३–० को सोझो सेटले हराउँदै थाहा नगरपालिकाको महिला टिमले उपाधि आफ्नो पक्षमा पारेको छ । थाहा नगरले हेटौंडालाई क्रमशः २५–२०, ३०–२८ र २५–१९ को सोझो सेटले सहजै हराउँदै उपाधि जित्न सफल भएको हो ।
उपाधि जितेसँगै थाहा नगरपालिकाको महिला टिमले एक लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हेटौंडाको महिला टिमले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै सेमीफाइनलमा पराजित भएका बकैया र भीमफेदीको महिला टिमले जनही ३०÷३० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै थाहा नगरपालिकाकी गंगा गुरुङले ७ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेकी छिन् । यस्तै थाहा नगरका किरण गिरी उत्कृष्ट प्रशिक्षक, हेटौंडाकी अप्सना उप्रेती उद्ययमान खेलाडी, हेटौंडाकी आयुषा सिंह दनुवार उत्कृष्ट डिफेन्डर, भीमफेदीकी तुलसी चौधरी उत्कृष्ट ब्लकर, थाहा नगरकी लक्ष्मी बलामी उत्कृष्ट सेटर र हेटौंडाकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित हुँदै जनही ४-४ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा आइतबारबाट सुरु भएर मंगलबारसम्म सञ्चालन भएर सम्पन्न भएको हो । प्रतियोगिताका लागि मकवानपुर जिल्ला खेलकुद विकास समिति र नगर खेलकुद विकास समितिले सहकार्य गरेको छ ।
केशवलाल प्रतिष्ठानका अध्यक्ष प्रताव विष्टको अध्यक्षतामा तथा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन कार्यक्रम भएको हो । समापन समारोहमा प्रदेश खेलकुद विकास परिषद्, बागमीका निवर्तमान बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्गी, कार्यालय प्रमुख माधव कोइराला, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका निवर्तमान प्रमुख कृष्णप्रसाद घिमिरे, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्