संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा सरुवा भएका निजामती कर्मचारीहरूलाई तीन दिनभित्र रमाना दिन पत्राचार गरेको छ। मन्त्रालयले बिहीवार मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहका सबै कार्यालयलाई परिपत्र गर्दै तत्काल रमाना दिन भनेको हो ।

परिपत्रमा निजामती सेवा ऐन, कर्मचारी समायोजन ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम प्रमुख प्रशासकीय अधिकृत तथा अन्य जिम्मेवारीमा खटाइएका कर्मचारीहरू अझैसम्म साविक कार्यालयमै रहेको पाइएकाले सार्वजनिक सेवा प्रवाह प्रभावित भएको उल्लेख गरिएको छ। कानुन बमोजिम तोकिएको समयमै रमाना नहुँदा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको मन्त्रालयको ठहर छ।

मन्त्रालयले निजामती सेवा नियमावली, २०५० अनुसार रमाना अनिवार्य रहेको स्पष्ट पार्दै सम्बन्धित कर्मचारीलाई तीन दिनभित्र रमाना दिएको जानकारी मन्त्रालयमा पठाउन आग्रह गरेको छ। सचिवस्तरीय निर्णय गर्दै सबै निकायलाई परिपत्र गरिएको छ ।

यसबीच पछिल्लो समय कतिपय स्थानीय तहमा सरुवा गरिएका कर्मचारीहरुलाई सोर्स फोर्सका आधारमा संघीय मन्त्रालय तथा निकायमै व्यवस्थापन गरेको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चौतर्फी आलोचना हुँदै आएको छ । सक्नेहरुका लागि संघमै ठीक, नसक्नेहरुले मात्रै स्थानीय धानिदिनुपर्ने र जहिल्यै पेलानमा पर्नु पर्ने उनीहरुको गुनासो रहँदै आएको छ ।

Open photo
पालिका प्रेस
थप जानकारी