मकवानपुरका १०२ वटै वडामा ३ फागुनबाट मतदाता शिक्षा संचालन कार्यक्रम सञ्चालन भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो । मकवानपुरको थाहा नगरपालिकाको १२ वटै वडामा मतदाता शिक्षा शुरु भइसकेको जानकारी दिदै थाहा नगरपालिकाका अनुगमनकर्ता अनिल लामिछानेले भने–‘प्रदेश निर्वाचन कार्यालय हेटौंडाले हामीलाई तालिम दियो र तत्पश्चात् ३ फागुनबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।’
थाहा नगरपालिकाका निर्वाचन सम्पर्क व्यक्ति समेत रहेका लामिछानेले थाहानगरको १२ वटै वडामा स्वयंसेवकहरु मार्फत मतदाता शिक्षा प्रदान भइरहेको बताए । ‘हाम्रा स्वयंसेवकहरु समुदाय अनुसार छनोट गरिएको हुँदा मातृभाषामा समेत मतदाता शिक्षा दिइरहेका छन्, यसले बदर मत घटाउन मद्दत पुग्छ’–लामिछानेले भने । थाहा नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार तामाङ भाषीको बाहुल्यता रहेको छ ।

थाहानगरमा मतदाता शिक्षा प्रदान गर्दै स्वयंसेवकहरु ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाले प्रत्येक वडाका सबैजसो मतदाताहरुलाई घरघरमा पुगेर मतदाता शिक्षा दिइने योजनासहित यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । मकवानपुरका दशवटै पालिकाबाट एक–एक जना अनुगमनकर्ता समेत खटाइएको आयोगले जनाएको छ । प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रममा परिचालन गरिएको छ । मतदाता शिक्षा कार्यक्रमको अनुगमन निर्वाचन कार्यालयबाट तालिम पाएका अनुगमनकर्ताहरुले गर्ने छन् ।

थाहानगरमा मतदाता शिक्षा प्रदान गर्दै स्वयंसेवकहरु ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन कार्यालयले थालेको मतदाता शिक्षा कार्यक्रम १७ फागुनसम्म सञ्चालन हुने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए । स्वयंसेवकले मतदाताको घरबस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रिया बारेमा जानकारी गराउने उनले बताए।
मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर १ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुरका कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ मा महिला १ लाख ५३ हजार ३७६ र अन्य मतदाता ५ जना रहेका छन् ।

थाहानगरमा मतदाता शिक्षा ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्