लामो अन्तरालपछि आएको स्थानीय तहमा नागरिकहरूले सरकार आफ्नो घरदैलोमा देख्न पाएका छन् । यसमा हामीले भ्रष्टाचारमुक्त सेवा दिन सक्षम भएको जस्तो लाग्छ । मैले आफ्नो कार्यकालमा स्थानीय जनतालाई कसरी छिटो र गुणस्तरीय सेवा दिन सकिन्छ भनी हरसम्भव प्रयास गरेको छु । हामी जनताको करबाट तलब खाएर उहाँहरूलाई कसरी सहज जीवनयापनमा सहयोग पुर्‍याउन सकिन्छ भनेर आएको हुँदा सोहीअनुसार कार्य गर्दै आएका छौँ । चुनावअघि पाँचखाल नगरपालिकामा कृषि क्याम्पसको कुरा गरेको थिएँ । काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स र एग्रिकल्चर पठनपाठनको वाचा गरेको थिएँ । खानेपानीको समस्या समाधानको वाचा गरेको थिएँ । प्रत्येक टोल–टोलमा गुणस्तरीय बाटोको कुरा गरेको थिएँ । भूकम्पपश्चात् सबैभन्दा बढी क्षति भएको पाँचखाल नगरपालिकाका घरहरू पुनर्निर्माणको वाचा गरेको थिएँ । स्वास्थ्य समस्या समाधान गर्ने वाचा गरेका थिए । तिनै वाचा पूरा गर्न खटिएँ ।

मैले गरेका वाचाहरू कतिपय पूरा भइसकेका छन् भने कति अन्तिम चरणमा छन् । जस्तो कृषि क्याम्पस, काठमाडौँ विश्वविद्यालयमा एग्रिकल्चर तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पठनपाठन सुरु भइसकेको छ । खानेपानीको ठूलो समस्या रहेको नगरमा हाल समस्या समाधान हुँदै गएका छन् । सुनकोशी खानेपानी आयोजना तयारी अन्तिम चरणमा पुगेको छ । केही समयपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको पानी घर–घरमा प्राप्त गर्नेछन् ।

टोलटोलमा बाटो पुर्‍याउने लक्ष्यअनुसार कतिपय बाटो बजारसम्म पुगिसकेका छन् भने कति अन्तिम चरणमा छन् । भूकम्पले तहसनहस भएका विद्यालय तथा घरहरू पुनर्निर्माण भइसकेका छन् । स्वास्थ्यमा काभ्रे जिल्लामा सबैभन्दा राम्रो काम गरेको छौँ । कृषि आधुनिकीकरणका लागि यन्त्रीकरण र आधुनिकीकरणसँगै लैजाने योजनाअनुरूप एक हजारभन्दा बढी हाते ट्याक्टर वितरण गरेका छौँ । विषादी नियन्त्रण गर्न ६ सय जना अगुवा कृषकहरूलाई आइबीएम तालिम दिएका छौँ । जसमा अर्गानिक प्रेस्टिसाइड (किटनाशक) र अर्गानिक मल प्रयोग गर्न प्रोत्साहन गरेका छौँ । पाँचखाल नगरपालिकालाई काठमाडौँको अर्को विकल्पका रूपमा व्यवस्थित सहरीकहरणका लागि बाटो, खानेपानी एवं कृषकको जीवनस्तर उठाउन व्यवस्थित तथा वैज्ञानिक कृषिको अवधारणाअनुरूप जीवनस्तर उठाउने काम गरेको छु । त्यस्तै सीमान्तीकृत बस्तीमा बाटो, खानेपानीको सुविधा पुर्‍याई उनीहरूलाई राज्य रहेको या भएको अनुभुति दिलाउन पाँच वर्ष यसमै फोकस गर्‍यौँ । त्यस्तै पाँचखाल नगरपालिकामा खानेपानी समस्या समाधान भएको छ ।

ड्ब्लुएचओ स्ट्यान्डर्डको शुद्ध गुणस्तरीय खानेपानीका लागि हामीले एसियाली विकास बैंक र नगरविकास कोषको सहयोगमा दक्षिण एसियाकै सबैभन्दा ठूलो आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । यसको ६० प्रतिशत काम सकिएको छ । अबको ६ महिनाभित्र हामी स्थानीय जनताको घरघरमा शुद्ध खानेपानी पाउनेछन् । त्यस्तै, तत्कालका लागि डीप बोरिङ तथा नगरपालिकाभित्र भएका मूलहरूको संरक्षण गरेर खानेपानी समस्या समाधान गरेका छौँ ।  त्यस्तै प्रत्येक वडामा बाटोको अवस्थाअनुसार ढलान तथा कालोपत्रे नाली बनाएका छौँ । प्रत्येक टोललाई बजारसम्म पुर्‍याएका छौँ र नपुगेका तहलाई पुर्‍याउन कार्यरत छौँ । भूकम्पपछि भत्किएका संरचनाहरू निर्माण सम्पन्न भइसकेका छन् । यसमा कतिपय नगरपालिका आफ्नै सहयोगमा तथा समन्वयमा पुनर्निर्माण सकिएको हो । नगरपालिकाको भवन तथा सम्पूर्ण वडा कार्यालयहरू सम्पन्न भएका छन् ।

मैले आफ्नो कार्यकालमा पूरा गर्न नपाएको भनेको व्यवस्थित बस्तीका काम हुन् । यसमा हामी सुरुआती चरणमा छौँ । मैले पाँचखालमा ५ वटा स्मार्ट सिटी बनाउने सपना देखेको थिएँ, तर यो पूरा हुन पाएन । यसका लागि भर्खरै डिपिआरको काम हुँदै छ । कृषिमा हामीले चाहेअनुरूप कार्य गर्न सकेनौँ । यन्त्रीकरण र आधुनिकीकरण गर्ने योजना थियो । कम बेरुजु आउने नगरपालिकामध्ये पाँचखाल नगरपालिका पनि एक हो । देशभरि कम बेरुजु भएका नगरपालिकामा हामी चौथो नम्बरमा पर्‍यौँ । जम्माजम्मी ०.८ प्रतिशत भन्दा तल बेरुजु छ । हाम्रो कार्य प्रणालीमा कम बेरुजु, आर्थिक पारदर्शिता छ । हाम्रा जनप्रतिनिधिहरू कसैलाई पनि सवारी सुविधा छैन । गाडी किन्ने पैसाले हामीले दमकल तथा एम्बुलेन्स किनेका छौँ । जनप्रतिनिधिहरूले आफूले चढ्ने गाडीको सुविधा छाडेर जनतालाई खानेपानीको लागि पैसा छुट्यायौँ । बागमती प्रदेशको उत्कृष्ट नगरपालिका घोषित भएको नगरपालिका हो, पाँचखाल । कार्यमूल्यांकनका आधारमा हाम्रो नगरपालिकालाई बागमती प्रदेशको उत्कृष्ट नगरपालिकाको सम्मानबाट सम्मानित भएको एकमात्र नगरपालिका हो । यसमा हामी हाम्रा जनप्रतिनिधि तथा कर्मचारीहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ । हामी करदाताका पाले हौँ, यसको उचित प्रयोग गर्नुपर्छ हामीले यसको दुरुपयोग गर्नुहुन्न । हाम्रोमा प्रत्येक टेन्डर ३५ देखि ४० प्रतिशतमुनि टेन्डर भएको छ ।

  • महेश खरेल, नगरप्रमुख, पाँचखाल, नगरपालिका, काभ्रे 
पालिका प्रेस
थप जानकारी