मुगुका ४ वटै पालिकामा सीमा निर्धारणमा विवाद देखिएको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन थाले पनि उनीहरूले विवाद समाधानमा चासो दिएका छैनन् । जिल्लाका पालिकाहरूबीच मात्र हैन, छिमेकी जिल्लासँग पनि सीमा विवाद उस्तै छ । छायानाथरारा नगरपालिकासँग सीमा जोडिएको जुम्लाको डाब र घुच्चीलेक क्षेत्रमा विवाद छ । २०७५ मा उक्त स्थानमा नगरपालिकाले गेट बनाउन लाग्दा जुम्लाको कनकासुन्दरी गाउँपालिकाका स्थानीयले आफ्नो वन क्षेत्रमा गेट बनाउन पाइँदैन भन्दै विरोध गरेका थिए । तर पालिकाले बेवास्ता गरी स्वागतद्वार बनाएपछि कनकासुन्दरीका बासिन्दाले भत्काइदिएका थिए । नगरपालिकास्थित पिना, मुन्दु र कोटिलाका स्थानीयले भने घुच्चीडाबदेखि नेपाली सेनाको ब्यारेकसम्मको क्षेत्र आफ्नो दाबी गर्दै आएका छन् ।

कनकासुन्दरीका स्थानीयले सातमोडभन्दा माथिको चौरको छेउबाट आफ्नो सिमाना भनेर दाबी गर्न थालेपछि सीमा विवाद बल्झिँदै गएको छ । विवाद समाधानका लागि नगर प्रमुख हरिजंग शाहीसहित पिना गाउँका स्थानीय र कनकासुन्दरीका अध्यक्ष नरवीर रावतसहितको टोलीबीच पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन । मुगु र जुम्लाको सिमाना विवादका कारण दुवै जिल्लाका स्थानीयलाई पशुचौपाया चराउन पनि समस्या भएको पिनागाउँका टक्कबहादुर मल्लले बताए । ‘पाँच वर्षसम्म स्थानीय सरकारले आफ्नो सीमा नै छुट्याउन सकेन,’ उनले भने, ‘अरू समस्या त कति छन् कति, घाँसदाउरा गर्न र पशु चराउनै समस्या भयो ।’

नगरपालिका र छिमेकी जिल्ला हुम्लाको चंखेली गाउँपालिकाबीच पनि सीमा विवाद कायम छ । मुगुतर्फका बाम, पोइपाटा र थपालचौर गाउँका स्थानीय र हुम्लाको दार्मका बासिन्दाबीच गाईभैंसी र भेडाबाख्रा चराउने बेलासमेत पटकपटक विवाद हुने गरेको छ । २०७३ मा हुम्लाको दार्मका स्थानीय आएर मुगुको बाम गाउँका स्थानीयको लेक र खर्कका बनाइएका अस्थायी टहरा तोडफोड गरी आगजनीसमेत गरेका थिए ।

वामगाउँका स्थानीयले जोगीमारे, सातथाप्ले, अड्डाधारा र दूधतालसम्म आफ्नो वनक्षेत्र भन्दै दाबी गगर्दै आएका छन् । चंखेली गाउँपालिकाको दार्मका स्थानीयले चंखेली लेकबाट आफ्नो क्षेत्र भनेपछि पटकपटक झगडासमेत भएको छ । ‘उनीहरू यता आउँदा र हामी उता जाँदा पटकपटक झगडा भएको छ,’ वडाध्यक्ष नन्दलाल बडुवालले भने, ‘सिमाना निर्धारण नहुँदा बर्खाको समयमा गाईगोरु र भेडाबाख्रा चरिचरन गर्न पनि समस्या भयो ।’ उनले सीमा विवादका कारण बामगाउँका स्थानीयलाई जडिबुटी संकलन र घर निर्माणका लागि काठ ल्याउन अप्ठेरो भएको बताए । मुगुमकार्मारोङ गाउँपालिका र नगरपालिकाबीचको सीमा विवाद पनि लामो समयदेखि उस्तै छ । कम्फा, लुम्स, भट्टीडाँडीका स्थानीयले गेट निर्माणदेखि कम्फा पारिको वनक्षेत्र आफ्नो भन्दै गेटसमेत निर्माण गरेका छन् ।

तर सोरु गाउँपालिका र नगरपालिकाबीचमा भने सीमा विवाद देखिएको छैन । सीमा निर्धारणका लागि नगरसँग छिमेकी गाउँपालिका र जुम्लाका बासिन्दासँग पटकपटक छलफल गरे पनि समस्या समाधान हुन नसकेको नगरप्रमुख हरिजंग शाहीले बताए । ‘अरू विकास निर्माण र प्रशासनिक काममा ध्यान दिँदा सीमा विवादको समस्या उस्तै रह्यो,’ उनले भने, ‘अझै पनि विवाद मिलाउने प्रयास भने जारी छ ।’ सीमा विवादका कारण आपसी सम्बन्ध बिग्रिएको उनले जानकारी दिए । सीमा विवाद रहेका गाउँका बासिन्दाबीच सानासाना विषयमा पनि झगडा हुने गरेको स्थानीय युवा कमल शाहीले बताए ।

‘एक गाउँकाले अर्को गाउँकालाई विभिन्न सुविधामा प्रतिबन्ध गरिरहेका छन्,’ उनले भने, ‘विकास निर्माणका काममा पनि समस्या भइरहेको छ ।’ केही गाउँमा सीमा विवादकै कारण स्थानीयले विकासको अनुभूति गर्न नसकेको उनले बताए । सीमा विवाद समाधान नहुँदा स्थानीयलाई घर बनाउन र कुनै व्यवसाय सञ्चालन गर्न पनि समस्या भएको उनको भनाइ छ । सिमाना निर्धारणका लागि स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालसँग समन्वय गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । ‘स्थानीय तहले पहल गरे सिमाना निर्धारणका लागि मन्त्रालयले टोली खटाई समस्या समाधान गर्न सक्छ,’ उनले भने, ‘स्थानीय तह गठन भएको सुरुको वर्षमै सीमा छुट्याउनुपर्ने हो, तर बेवास्ता हुँदा नागरिकले दुःख पाइरहेका छन् ।’

पालिका प्रेस
थप जानकारी