मकवानपुर थाहा नगरपालिकामा जारी विनयबाबु स्मृति जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि तमु बहुउद्देश्यीय युवा क्लबले चुमेको छ । थाहा नगरपालिका वडा नम्बर ५ को तमुले आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई लगातार तीनै सेटमा अग्रता लिँदै विजयी भएको हो । तमुले २५–२३, २५–२०, र २५–२३ को अन्तरले आयोजकलाई पछि पारेको हो ।
विजयी भएसँगै तमु बहुउद्देश्यीयले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ भने उपविजेता विनयबाबु स्मृति प्रतिष्ठानले नगद २८ हजार ८ सय ८८ रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । प्रतियोगिताको साविक विजेता मंगलेश्वर युवा क्लबले भने यसवर्ष तृतीय स्थानमै चित्त बुझाउनु पर्यो । तृतीय भएको मंगलेश्वरले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र पाएको छ । प्रतियोगिता विजेता तथा उपविजेता टिम तथा खेलाडीहरुलाई थाहा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी विष्णु बहादुर विष्टले पुरस्कार वितरण गरेका थिए ।

उपविजेता आयोजक विनयबाबु प्रतिष्ठानका खेलाडीहरु साथमा अतिथीहरु । फोटो श्रीकृष्ण श्रेष्ठ/पालिका प्रेस
प्रतियोगितामा उत्कृष्ट खेलाडी पुजन गुरुङ, वेस्ट डिफेन्डर पुकार गुरुङ, वेष्ट स्पाइकर सुजन कार्की, वेष्ट ब्लकर विवेक माझी र वेष्ट सेटर प्रजिन बलामी र वेष्ट सेभर रमेश थिङ घोषित भएका छन् । उनीहरुलाई पनि प्रमुख अतिथी विष्टले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा मकवानपुर जिल्लाका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता २ कार्तिकबाट शुरु भएको हो । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको हो ।
विनयवावु प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षताम भएको कार्यक्रममा १२ नम्बर वडाध्यक्ष तथा खेलकुद विकास समिति थाहानगरका संयोजक टिकाराम स्याङ्तान, २ नम्बर वडाध्यक्ष बम बहादुर सिन्तान, थाहानगर खेलकुद विकास समितिका पूर्व संयोजक राजेश केसी, थाहानगरका जनप्रतिनीधिहरु, स्थानीय संघसंस्थाका प्रमुख एवं प्रतिनीधिहरु, खेलप्रेमी लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा प्रतियोगिताको लागि सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई पनि आयोजकले कदर पत्र वितरण गरिएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्