‘नर्सको व्यवस्था भएपछि स्कुलको वातावरणमा नै परिवर्तन आएको छ,’ रसुवाको नौकुण्ड–४ निर्कभूमि श्रमथली माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर धितालले भने । विद्यालयमा अहिले जंकफुड बन्द भएको छ भने सामान्य स्वास्थ्य समस्या देखिए पनि विद्यार्थी गयल हुँदैनन् ।

खाजाका लागि विद्यार्थीले अहिले घरबाटै चना, चिउरा, रोटीलगायत खानेकुरा घरबाटै ल्याउने गरेका छन् । विद्यालयमा एक वर्षअघि आएकी नर्स प्रमिला आचार्यले विद्यार्थीलाई जंकफुड खान रोक लगाएकी छन् । सरसफाइबारेमा शिक्षक र विद्यार्थी सबैलाई परामर्श पनि दिन्छिन् ।

सामान्य बिरामी परे पनि विद्यार्थी स्कुल आउँदैनथे । अहिले स्कुलमा नै उपचार हुने भएपछि विद्यार्थी गयल हुँदैनन् । ‘स्कुलमा नै उपचार हुन्छ भनेपछि अभिभावकले पनि पठाउने र विद्यार्थी पनि आउँछन्,’ प्रअ धितालले भने । विद्यालयका साढे ५ सय विद्यार्थीमध्ये अधिकांश तामाङ समुदायका छन् । स्कुललाई आवश्यक औषधि पालिकाले व्यवस्था गरिदिएको छ । नर्सले समुदायमा पनि स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने गरेकी छन् ।

मकवानपुरको अत्यन्त विकट राक्सिराङ–९ कालिका मावि अठारे खैराङस्थित विद्यालयमा पनि नर्स नियुक्त भएपछि स्कुलभित्र र बाहिर सरसफाइ, स्वास्थ्य, खानपान र छात्रछात्राको उपस्थितिमा सुधार आएको छ । स्कुलमा अहिले जंकफुड बन्द गरिएको छ । महिनावारी भएका छात्रालाई सेनेटरी प्याड दिने गरिएको छ ।

‘विद्यालयमा नर्सको व्यवस्था भएपछि खानपान, सरसफाइ र स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन आएको छ,’ प्रअ धीरेन्द्र झाले भने, ‘स्कुलमा औषधि पाइन्छ भनेपछि बिरामी विद्यार्थी पढ्न आउने गरेका छन् ।’ ९० प्रतिशत चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा ३ सय ७५ विद्यार्थी छन् । नर्स ममता सापकोटा विद्यालयमा मात्र सीमित छैनन्, गाउँलेलाई पनि स्वास्थ्यसम्बन्धी चेतनामूलक जानकारी गराउँछिन् । मकवानपुरको कैलाश–३ कालिका माविकी नर्स विन्दा तामाङले विद्यार्थीसहित समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउँछिन् । विद्यालयमा नर्सको व्यवस्था भएकाले विद्यार्थी, शिक्षक र समुदाय लाभान्वित भएको प्रधानाध्यापक राजाराम पराजुलीले बताए ।

रसुवा र मकवानपुरका मात्र होइन चितवनको दुर्गम र सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा पनि नर्सको व्यवस्था भएपछि बहुआयामिक प्रभाव परेको छ । चितवनको कालिका नगरपालिका शक्तिखोरस्थित चतुर्मुखी माध्यमिक विद्यालयमा नर्सको व्यवस्था छ । विद्यालयमा स्थानीय धनमाया चेपाङ नर्स छिन् । उनी नर्स भएको देख्दा स्थानीय चेपाङ समुदायका अभिभावक र विद्यार्थीहरू खुसी हुनुका साथै उनीहरूलाई पढ्न प्रेरणा पनि मिलेको चतुर्मुखी माविका प्रअ चन्द्र गुरुङले बताए ।

‘स्कुलमा नर्सको व्यवस्था गरिएको छ । त्यसमा पनि स्थानीय चेपाङ समुदायीकी चेलीहुँदा विद्यार्थी प्रेरित भएका छन्,’ उनले भने । उनी हुँदा विद्यार्थी र शिक्षकको खानपानमा सुधार भएको छ । किशोरावस्थाका विद्यार्थीलाई महिनावारी र यौन प्रजनन स्वास्थ्यबारे नियमित परामर्श दिन्छिन् धनमाया ।

धनमाया उक्त विद्यालयकी मात्र होइन, गाउँकै नर्स भएकी छन् । गाउँमा बिरामी भए भने उनलाई नै सोध्न र बिरामी देखाउन ल्याउने गर्छन् । विद्यालयलाई आवश्यक पर्ने औषधि नगरपालिकाले व्यवस्था गरिदिएको छ । विद्यालयमा ७ सय ५० छात्रछात्रा छन् । धनमायाले चेपाङ भाषा पनि बोल्ने भएकाले चेपाङ समुदायका विद्यार्थीलाई अझ सहज भएको छ । विद्यालयमा ४५ प्रतिशतभन्दा बढी चेपाङ समुदायका विद्यार्थी छन् । ‘सुरुसुरुमा स्कुलमा शिक्षक पो चाहिन्छ किन नर्स पठाएको होला जस्तो लागेको थियो । बल्ल थाहा भयो,’ प्रअ गुरुङले भने । विद्यालयका नर्सले कोरोनाको समयमा स्थानीयलाई स्वास्थ्य सेवा पनि पुर्‍याउने काम गरे । ‘कोरोनाका बेला विद्यालय बन्द थिए । उनीहरूले संक्रमितलाई सेवा दिए,’ राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने ।

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले २०७४/७५ मा नमुनाका रूपमा १३ जिल्लाका २० सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम अत्यन्त प्रभावकारी भएको ठहर गर्दै प्रदेश सरकारले आव २०७५/७६ मा १३ जिल्लाका ११९ स्थानीय तहका १२१ विद्यालयमा नर्सर् खटाएको हो । समुदाय र विद्यालयमा यसको प्रभावकारिता बहुआयामिक ढंगले परेको ठहर गर्दै २३८ जना नर्सको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयकी विद्यालय नर्स कोर्डिनेटर बिनु कक्षपतिले बताइन् । ‘चालु आवमा थप ९९ माविका निम्ति ९९ जना नर्स नियुक्त गरेर पठाएका छौं,’ उनले भनिन् । प्रदेश सरकारले १३ जिल्लाका ११९ पालिकाका ४५८ वटा माविमा विद्यालय नर्सको व्यवस्था गरिसकेको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अत्यन्त प्रभावकारी देखिएकाले सबै माविमा विस्तार गर्ने योजना रहेको स्वास्थ्यमन्त्री निमा लामाले बताए ।

पालिका प्रेस
थप जानकारी