
मकवानपुरको कैलाश गाउँपालिकामा भएको पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता समेत रहेको वडा नम्बर १० ले हात पारेको छ । १७ फागुनमा भएको फाइनल खेलमा वडा नम्बर १०ले वडा नम्बर ८ लाई पेलान्टी सुट आउटमा ८–७ गोल अन्तरले हराउँदै वडा १० विजयी भएको हो ।
उपाधि सँगै वडा १० ले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलको पहिलो हाफ बराबरी भएको थियो । खेलको १७ औं मिनेटमा १० नम्बर वडाका सुर्य थिङले पहिलो गोल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा गोल फर्काउँदै बराबरीमा पु¥याएका थिए । दोस्रो हाफमा दुबैतर्फबाट गोल गर्न असफल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । पेलान्टी सुटआउटमा दुवैतर्फबाट बराबरी ५–५ गोल भएको थियो भने सडनडेथमा ३–२ गोल भए सगैै ८–७ गोल अन्तरले वडा नम्बर १० विजयी भएको हो । खेलको म्यान अफ द म्याच वडा १० का गोलरक्षक विशाल वाईवा घोषित भए ।
गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अध्यक्ष मुक्तानले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा उत्कृष्ट उदयीमान खेलाडी वडा ८का विपु मुक्तान, उत्कृष्ट फरवार्ड वडा १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा १० सुर्य थिङ्ग, उत्कृष्ट मिडफिल्डर वडा ८ का विपु मुक्तान, खेल अवधिमा धेरै गोलगर्ने वडा ८ का खेलाडी राजन स्याङ्बो (६गोल), उत्कृष्ट गोलरक्षक वडा १० का विशाल वाइवा र सर्वाेत्कृष्ट खेलाडी वडा १० अनित सिंतान घोषित भए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान, वडा १०का अध्यक्ष सुर्य बहादुर ब्लोन वडा ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रहरी चौकी नामटारका ईन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्