ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकारीविहीन बनेका छन् । १ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा रहेका हुन् ।

कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन् । स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुखविहीन बनेका हुन् । फक्ताङ्लुङ गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ ।

यस्तै, मिक्वाखोला गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीयविहीन बनेको छ । मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिका १ महिनादेखि प्रमुखविहीन छ । पाथीभरा याङ्बरक र सिरिजंगा गाउँपालिका केही साता अघिदेखि प्रमुखविहीन छ । लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदा ती स्थानीय तहको काम प्रभावित भएको छ ।

कार्यालय प्रमुख नभएका स्थानीय तहमा कतिपय कर्मचारी र शिक्षकले समयमा पारिश्रमिक पाउन सकेका छैनन् भने महत्त्वपूर्ण काममा बाधा पुगेको छ । कार्यालय प्रमुखको पदपूर्ति कहिलेसम्म हुन्छ भन्नेबारे अन्योल छ । फुङ्लिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । यस्तै, ६ वडा रहेको गाउँपालिकामा वडा सचिव नभएपछि सिरिजंगा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भई नआउन्जेलसम्म लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने भएको हो ।

एकैपटक सरुवा गरिएपछि सिरिजंगा वडा सचिवविहीन बनेको हो । फक्ताङलुङ गाउँपालिकामा तीन वडामा मात्र सचिव रहेको गाउँपालिकाका सूचना अधिकारी ज्यप्रकाश रिजालले बताए । अनमीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । मिक्वाखोला गाउँपालिकामा अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

पालिका प्रेस
थप जानकारी