इलामको देउमाई नगरपालिका र मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्लभ उदाहरण हुन्, जसले पाँचै वर्ष प्रशासन चलाउन पाए । देउमाई नगरका सूचना अधिकारी गोविन्दराज बास्तोलाका अनुसार सुरुदेखि नै प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद दाहालले जिम्मेवारी सम्हाल्दै आएका छन् । नगरपालिकाको चुनाव हुँदा दाहाल नै निर्वाचन अधिकृत थिए ।

थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले पनि पाँचै वर्ष नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाले । ‘म पहिलोपटक ०७१ फागुनदेखि ०७२ फागुनसम्म यही नगरपालिकाको प्रमुख प्रशासकीय थिएँ,’ पुरी भन्छन्, ‘निर्वाचनपछि ०७४ को असोजदेखि हालसम्म यहीँ छु ।’

अधिकांश तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भइरहँदा उनी कसरी लामो अवधिसम्म रहन सके त ? उनी भन्छन्, ‘यहाँ जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सौहार्द छ । जनप्रतिनिधिले कर्मचारीलाई आफ्नो तरिकाले काम गर्न दिनुभएको छ, सहज वातावरण छ । कर्मचारीमा पनि जनप्रतिनिधिसँग मिलेर, समन्वय गरेर काम गर्नुपर्छ भन्ने भावना छ । यहाँ जनप्रतिनिधि र कर्मचारीबीच राम्रो समन्वय छ ।’

त्यस्तै, इलामको माङ्सेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी गाउँपालिकामै कार्यरत रहेको तीन वर्ष पूरा भएर चार वर्ष लाग्यो । उनी भन्छन्, ‘स्थानीय तह प्रशासन र राजनीतिक नेतृत्वको कम्बिनेसन हो । दुवैले आ–आफ्नो सीमा बुझेर आपसी समझदारीमा काम गरे समस्या आउँदैन ।’ सर्लाहीको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल पनि साढे तीन वर्षदेखि एकै ठाउँमा छन् । ‘सुरुमा नगरपालिका स्थापना हुँदा यहीँ थिएँ, पछि पुनः फर्केर आएँ । म यहाँ कार्यरत रहेको साढे तीन वर्ष भयो,’ उनी भन्छन् ।

१३ पटक प्रशासकीय अधिकृत फेरिने पालिका 
धनुषाको हंसपुर नगरपालिका र सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिकामा १३ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

१२ प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका हंसपुरमा अहिले १३औँ प्रमुख प्रशासकीयको रूपमा सूर्यप्रसाद दाहाल छन् । मेयर र कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा समस्या देखिएको दाहालको भनाइ छ । सोलु–दूधकुण्डमा पनि १३औँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा पुरुषोत्तम अधिकारी रहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत दोर्जी शेर्पाले बताए ।

पालिका प्रेस
थप जानकारी