रूपन्देहीको बुटवल उपमहानगरले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । ८ असार ०७५ मा पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको ५ माघमा पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गरे । भवन उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्न उपमहानगरलाई सुझाव दिए । उनले नागरिकले नयाँ भवनबाट प्राप्त गर्ने सेवालाई पनि स्तरीय बनाउन आग्रह गरे ।

५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ अनुमानित लागत राखिएकामा बिकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । भवनको गत ६ असारभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौताको म्याद राखिए पनि कोभिड महामारीका कारण ७ महिना ढिलो गरी भवन निर्माण सकिएको उपमहानगरका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । हालको प्रशासनिक भवनको दक्षिणतर्फ यसअघि तिलोत्तमा पार्क रहेको स्थानमा भवन निर्माण गरिएको हो । ०३५ मा निर्माण गरिएको हाल उपमहानगरपालिका कार्यालय रहेको भवन ०७२ को भूकम्पले चर्किएपछि मर्मत गरेर कार्यालय सञ्चालन भइरहेको थियो ।

भूकम्पले क्षतिग्रस्त भएको भवनमा कार्यालय सञ्चालन गर्न जोखिम भएको भन्दै उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अत्याधुनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो । भवन करिब ३ बिघा क्षेत्रफलमा निर्माण गरिएको र यही क्षेत्रमा आवश्यकताको आधारमा थप ६ वटा अन्य ब्लकसमेत निर्माण गर्दै उपमहानगरले जनाएको छ । उपमहानगर प्रमुख शिवराज सुवेदीले हाल रहेको पुरानो भवनको जग्गालाई समेत लिएर प्रमुख प्रशासनिक भवनसहित अन्य संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाइएको बताए । गुरुयोजनाअनुसार पहिलो चरणमा निर्माण गरिएको ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन बेसमेनसहित चार तलाको अत्याधुनिक रहेको छ ।

दुई अलग–अलग स्थानमा लिफ्ट र दुवैतर्फ सिँढी बनाइएको अन्डरग्राउन्डसहितको नवनिर्मित भवनमा अन्डर ग्राउन्डमा १ सय ६ मोटरसाइकल, ३५ देखि ५० वटासम्म कार पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको छ । भवनको बाहिर पनि छुट्टै सवारीसाधन पार्किङ गर्न मिल्ने क्षेत्र छुट्याइएको छ । उपमहानगरका इन्जिनियर गौतम रौनियारका अनुसार भुइँ तलामा प्रतीक्षालय, बैंकका लागि काउन्टर, हेल्प डेस्क, नक्सा, योजना, राजस्व र भूमि व्यवस्थासम्बन्धी शाखा राखिएका छन् । पहिलो तलामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा र प्रशासन शाखा राखिएको छ ।

त्यस्तै, दोस्रो तलामा वातावरण, सामाजिक कल्याण, सूचना प्रविधिलगायतका शाखा राखिएको छ भने तेस्रो तलामा शिक्षा, युवा तथा खेलकुद शाखा र २ देखि ३ सय क्षमताको सभाहल राखिएको छ । इन्जिनियर रौनियारले ४ वटै तलामा २०÷२५ जना क्षमताका बैठक कक्ष निर्माण गरिएको जानकारी दिए । नवनिर्मित भवन निर्माण सम्पन्न भई उद्घाटन गरिए पनि अहिले फर्निचर व्यवस्थापन र इन्टेरियरको काम भइरहेकाले आउँदो ३ फागुनमा पर्ने उपमहानगरको स्थापना दिवसदेखि सम्पूर्ण शाखाको काम नयाँ भवनबाटै सञ्चालन गरिने उनले बताए ।

पालिका प्रेस
थप जानकारी