“जस्तो रोप्यो त्यस्तै फल्छ” भन्ने उक्तिवाटै यो बुझिन्छ, कि वाली उत्पादनमा मात्रात्मक तथा गुणात्मक वृद्धि ल्याउन वीउको अहम भूमिका रहन्छ । विभिन्न अध्ययन अनुसंधानबाट थाहा भए अनुसार स्थानीय खेती व्यवस्थामा असल वीउ प्रयोगले मात्र पनि १५ देखि २०% सम्म यसै वृद्धि ल्याउन सकिन्छ । वैज्ञानिक खेति व्यवस्थाको साथमा असल वीउ प्रयोग गर्दा उन्नत जातको पूरै उत्पादन क्षमता लिन सकिन्छ र उत्पादनमा अरु धेरै वृद्धि हुन जान्छ ।

बाहिरबाट हेर्दा प्राय धानको सवै दानाको आकार, प्रकार एउटै देखिन्छ तर तिनीहरुमध्ये बाट कतिपय दानाहरु चाउरिएका, रोगकीरा लागेका, दाना पुरा नभरिएको र कुनैको भित्र दाना समेत नरहेको हुन सक्छन् भने अन्य दानाहरु स्वस्थ, पुष्ट, पोटिला र चम्किला हुन्छन् । यस्तो स्वस्थ, पुष्ट धानको बीउ नुनपानीको प्रयोग गरि सरल तरिकाबाट छान्न सकिन्छ ।

बीउ छान्ने तरिका:

  • एउटा बाल्टिनमा पानी लिने ।
  • त्यसमा कुखुराको नबिग्रेको अण्डा राख्ने ।
    सफा पानीमा कुखराको अण्डा डुब्छ ।
  • त्यसमा नुन राख्दै घोल्दै जाने । नुन थप्दै जादा अण्डा माथी आउदै जान्छ ।
  • नुन थप्दै जाँदा जब अण्डा पानीको सतहमा आधा भाग बाहिर देखिन्छ तव नुन र पानीको मात्रा ठीक्क भयो भन्ने थाहा पाउनु पर्छ ।
  • प्रायः १ लिटर पानीको लागि २०० ग्राम नुनको आवश्यता पर्दछ ।
  • यसरी नुन र पानीको मात्रा ठिक्कमात्रामा मिली सकेपछि कुखुराको अण्डालाई पानीबाट हटाउनु पर्दछ ।
  • तैयार गरेको नुनपानीमा धानको बीउ राख्नु पर्छ ।
  • नुन पानीमा धानको पुष्ट, पोटीला दानाहरु तल फेदमा बस्दछन् भने रोग लागेका, आधा भरीएका, चाउरीएका, हरीया तथा खाली दानाहरु नुन पानीमा तैरीन्छन् ।
  • त्यस पछी नुनपानीमा तैरीएका दानाहरु नीकालेर एउटा भाडोमा राख्नु पर्छ ।
  • नुनपानीमा डुबेका पुष्ट दानाहरु निकालेर अर्को भाडोमा राखेर सफा पानीले ३ –४ पटक धुनु पर्दछ ।
  • उक्त बीउ लाई बेर्ना राख्नको लागि प्रयोग गर्नु पर्दछ ।
  • यो कार्य बीउ रोप्न भन्दा एक दिन अगाडी मात्र गर्नु पर्दछ ।

फाईदाहरु

  • स्वस्थ, पुष्ट, चम्किला धानका दानाहरुमात्र बीउको लागि प्रयोग हुने हुँदा उत्पादनमा बृद्धि हुने ।
  • रोगी, चाउरिएका, हरिया दानाहरु बीउको लागि प्रयोग नहुने ।
  • बीउ कम हुने वा बढी हुने झण्झटबाट मुक्त हुन सकिने ।
  • अन्तमा बचेको नुनपानी गाईबस्तुलाई खुवाउन सकिने ।
  • नुनपानीमा तैरीएको धान बस्तुभाउको दानाको रुपमा प्रयोग गर्न सकिने ।

छानेको बीउमा भिन्नता

  •  थिग्रीएको बीउको तौल तैरिएको बीउ भन्दा १५ देखि २५ प्रतिशतले बढी हुन्छ ।
  • थिग्रीएको बीउ स्वस्थ, पुष्ट, दाग कम भएका र चमकिला हुन्छन् भने तैरिएका बीउ सेप्रा, दाग परेका र फुस्रा हुन्छन् ।

छानेको बीउको असर

  • थिग्रीएको बीउको उमारशक्ति तैरिएको बीउ भन्दा १० देखि १५ प्रतिशतले बढी हुन्छ, चाँडो उम्रन्छ र बोट स्वस्थ हुन्छ ।
  • फलस्वरुप धानको उत्पादन र गुणस्तर बढ्छ । ठाँउ र अवस्था हेरी साधारणतया १० देखि १५ प्रतिशतसम्म उत्पादन बढेको पाईन्छ । यो नेपाल लगाएत अन्य विभिन्न देशमा कृषकहरुको सहभागीतामा भएको परीक्षणहरुबाट सिद्ध भैसकेको छ ।

-लेखक चौधरी, मकवानपुरगढी गाउँ कार्यपालिका मकवानपुरका कृषि अधिकृत हुन् ।

चन्द्रकान्त चौधरी
थप जानकारी