मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिका कार्यहरुलाई एउटै भवनवाट व्यवस्थित ढंगले काम सञ्चालन गर्नकाका लागि प्रशासनिक भवनको निर्माण थालिएको हो ।

मकवानपुर जिल्लाकै जनसंख्या र क्षेत्रफलको हिसाबले सबैभन्दा सानो ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सकिसकेको छ । गाउँपालिकाको केन्द्र रहेको खानीखेतमा ५ तले ३६ कोठे भवन निर्माणाधीन अवस्थामा छ । वि.सं. २०७८ कात्तिकमा सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार ०८२ चैत मसान्तसम्म निर्माण कार्य सकिसक्नु पर्ने छ । उमा–मनकामना आरवी जेभी निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का लिएको छ ।

‘खानीखेतको डाँडा खारेर भवन वनाउन समय लागेकाले सम्झौता भएकै समयमा काम सम्पन्न गर्न अलि कठिन देखिन्छ,’ पालिकाका ईन्जिनियर राजेन्द्रसिंह ठगुन्नाले भने, ‘अहिले काम भइरहेको छ ।’ करिब चार रोपनी जग्गामा १० करोड ७४ लाखको लागतमा उक्त कार्यालय भवन बनिरहेको छ । ‘उक्त भवन तयार भएपछि पालिकाको कार्यालय र शाखाहरु सबै एउटै छानामुनि हुनेछ’, पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले भने, ‘यो पालिकाको सिंहदरबार नै हो ।’

५ वटा वडामा विभाजित ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक कार्यालय खानीखेत स्थित साविकको कुलेखानी गाविसको कार्यालय रहेको भवनमा छ । ईन्द्रसरोवर गाउँपालिकाको २ नम्वर वडा कार्यालय समेत सोही भवनमा छ । स्वास्थ्य, कृषिलगायत शाखाहरु अन्य संघ–संस्थाका भवनमा आश्रय लिएर बसेका छन् । मकवानपुर १० वटा पालिकामध्ये ईन्द्रसरोवर, राक्सिराङ मनहरी र वकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।

भीमफेदी, कैलाश र मकवानपुरगढीले पालिकाको भवन निर्माण गरिसकेका छन् । जिल्लाको सुदुरपूर्वमा पर्ने बाग्मती गाउँपालिकाले आगामी चालू आर्थिक वर्षमा पालिकाको कार्यालयका लागि पक्की भवन निर्माण गर्ने पालिकाको अध्यक्ष सर्केस घलानले बताए । बाग्मती गाउँपालिकाले झुरझुरेमा कच्ची भवन बनाएर पालिकाका बासिन्दा सेवा प्रदान गरिरहेको छ । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाका आफ्नै पक्की र सुविधायुक्त भवन छ ।

पालिका प्रेस
थप जानकारी