हेटौंडा मकवानपुरको भूभागबाट गुड्ने काठमाडौं–रक्सौल रेलमार्ग निर्माणमा भारत र नेपाल सरकारले चासो देखाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सरकारी प्रतिनिधिहरुको भेटले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणलाई प्राथमिकतामा साग अगाडि बढाउने सम्बन्धमा सहमति भएको हो । भारतीय दूतावासका अनुसार पनि रेलमार्ग निर्माणमा गति दिइने सहमति भएको हो । दुई देशबीचका प्रतिनिधिहरुको भेटघाटलाई लिएर भारतीय दुतावासबाट जारी विज्ञप्तिमा क्वात्राको भ्रमणको क्रममा प्रस्तावित काठमाडौं–रक्सौल रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रत गतिमा अगाडि बढाउने सहमति भएको उल्लेख गरिएको छ ।

जसकारण मकवानपुरको भूमि हुँदै गुड्ने भनिएको रेलमार्ग निर्माणले गति लिएको हो ।दुई देशबीचको उच्च प्राथमिकतामा परेर रेलमार्ग निर्माण भएको अवस्थामा मकवानपुरको आर्थिक र सामाजिक विकासले फड्को मार्ने देखिन्छ । प्रस्तावित रेलमार्ग मकवानपुरको रौतहट र बारासँग सीमाना जोडिएको तत्कालीन धियाल गाविस हाल बकैया गाउँपालिकाको धियाल हुँदै सिस्नेरी पुग्ने जनाइएको छ । धियाल र सिस्नेरीको बीचमा शिखरपुरसँग पनि रेलमार्ग जोडिने भएको हो । मकवानपुरबाट रेलमार्ग मात्र नभई निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि निमार्णधीन छ । रेलमार्ग र फाष्ट ट्रयाक निर्माण पश्चात मकवानपुर सडक पूर्वाधारले सम्पन्नता हासिल गर्ने देखिएको हो ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको भारतीय विदेशसचिव क्वात्राको भेटमा काठमाडौं–रक्सौल रेलका बारेमा दुवै देशले प्राथमिकतामा राख्ने निर्णय भएको जनाइएको छ । सरकारले गत आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा काठमाडौं– रक्सौल रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डीपीआर सम्पन्न गर्ने जनाएको थियो । अहिले काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेशन सर्भे (एफएलएस)को काम अन्तिम चरणमा रहेको जनाइएको छ । लोकेशन सर्भेका आधारमा रेलमार्ग मकवानपुरको धियाल–शिखरपुर–सिस्नेरी हुँदै काठमाडौं पुग्ने देखिएको हो ।

रक्सौलबाट आउने क्रममा रेल बाराको जितपुर, निजगढ, मनवानपुरको शिखरपुर, सिस्नेरी हुँदै काठमाडौं आइपुग्नेछ । यसबीचमा कुल १३ वटा रेल स्टेसन रहने छन् । जसमध्ये तीन वटा स्टेशन मकवानपुरमै पर्ने भएको छ । मकवानपुरमा रेलको स्टेशन धियाल, शिखरपुर र सिस्नेरीमा हुने जनाइएको हो । रेल रक्सौल, विरगञ्ज, बगही, पिपरा, डुमरवाना, ककडी, निजगढ, चन्द्रपुर, धियाल, शिखरपुर, सिस्नेरी, साथीखेल र चोभारमा रोकिनेछ । रेलमार्गमा भारतीय प्रकारको ब्रोड गेज प्रयोग गरिने जनाइएको छ । रेलमार्ग निर्माणका क्रममा भौगोलिक बनावट, भौगर्विक जटिलता, भूकम्पीय जोखिम र सञ्चालन असहजताका कारण जटिलता तथा चुनौती आउने अनुमान गरिएको छ ।

लोकेशन सर्भेबाट मकवानपुरको भूभागबाट गुड्ने भनिएको स्थान सबै भौगोलिक रुपमा विकट छन् । धियाल पनि विकट हो । शिखरपुर र सिस्नेरी पनि भौगोलिक रुपमा विकट रहेका छन् । निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि मकवानपुर र ललितपुरको सीमानामा पर्ने बागमती दोभान (सिस्नेरी) हुँदै काठमाडौं उपत्यका पुग्नेछ । भारत सरकारको आर्थिक सहयोगमा उक्त अध्ययनको कार्य अघि बढिरहेको रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले जानकारी दिए । नेपाल र भारतबीच सन् २०२१ को अक्टुबरमा एफएलएस अघि बढाउने सम्बन्धमा सम्झौता भएको थियो । सन् २०१२ मा भारत सरकारसँग दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिएकोमा एउटा काठमाडौं–रक्सौल र अर्को बथनाहादेखि विराटनगरको रेलमार्गको काम अघि बढेको छ ।

काठमाडौं–रक्सौल रेलमार्ग पीईटी सर्भेले देखाएको विवरण अनुसार निर्माणको लागत नेपाली २ खर्ब ५४ अर्ब नेपाली रुपैयाँ (१ खर्ब ६५ अर्ब ५० करोड ४४ लाख ६० हजार भारु) लाग्नेछ । कुल १ सय ३५ किलोमिटर ८ सय ८६ मिटर लामो रेलमार्गमा ३९ वटा सुरुङ र ४१ वटा महत्वपूर्ण पुल रहने जनाइएको छ । सुरुङको कुल लम्बाई ४१ किलोमिटर ८ सय ७० मिटर रहनेछ । रेलमार्गमा कुल ४० वटा घुम्ती रहनेछन् । रेलमार्गको डिजाइन स्पिड १ सय २० किमि प्रतिघण्टा रहेको छ । काठमाडौं–रक्सौल रेलमार्गको पीईटी सर्वेक्षण भएको ४ वर्ष बिते पनि निर्माणको थप प्रक्रिया अघि बढ्न सकेको छैन ।

भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि रेलमार्ग निर्माणको कामले गति पाउने अनुमान गरिएको छ । भारतको कोंकण रेलवे कर्पोरेसनले एफएलएस गरिरहेको छ भने सम्झौता भएको १८ महिनामा उक्त सर्भे सम्पन्न गर्ने भनिएको छ । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रेल निर्माण हुने र पूर्व–पश्चिम रेलमार्गसँग निजगढमै क्रस हुने भएकाले यात्रामा सहजता आउने अनुमान गरिएको छ । काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन प्रक्रिया सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि अघि बढेको थियो ।

-साझाकुरा न्युजबाट

पालिका प्रेस
थप जानकारी