कैलालीको जानकी गाउँपालिकाले थारु समुदायका परम्परागत बाजा हस्तान्तरण गरेको छ । थारु समुदायमा माघी पर्वको अवसरमा देखाइने विभिन्न नाच समूहलाई पालिकाले बाजा वितरण गरेको हो ।

थारु समुदायमा रहेका सक्रिय नाच समूहलाई मादल, मजीरा, घुघरु, खैजडी, डफलीलगायतका नाच्ने समयमा बजाइने बाजा हस्तान्तरण गरिएको हो । गाउँपालिकाभित्रका ३० समूहलाई बाजा हस्तान्तरण गरिएको छ । थारु समुदायका हराउँदै गरेको परम्परागत नाच प्रवद्र्धन गर्ने उद्देश्यले समुदायका परम्परागत बाजा हस्तान्तरण गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।

 ‘थारु समुदायमा माघी पर्व उल्लासका साथ मनाइन्छ । यो पर्वको अवसरमा थारु समुदायमा प्रचलनमा रहेका मौलिक नाचहरु नाच्ने र गीत गाउने चलन छ’, अध्यक्ष चौधरीले भने, ‘यसरी गाइने गीतमा भगवानका गाथा गाइने गरिन्छ । थारु समुदायमा समूहमा आबद्ध भई रमाइलो गर्ने नाचगानका लागि आवश्यक पर्ने बाजा यसपटक पालिकाले सहयोग गरेको हो ।’ गाउँपालिकाका उपाध्यक्ष उमा महतोेले परम्परागत नाच हराउँदै गएकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।

थारु समुदायमा नयाँ वर्षका रुपमा मनाइने माघी पर्वको अवसरमा यस समुदायका सबै गाउँमा मीठामीठा परिकार खाएर मनाइन्छ । गाउँका सबै आफन्त एकै ठाउँमा बसेर मासु, अनडीको रोटी, ढिक्रीलगायतका परिकार  खानपिन गर्ने गरेका टीकापुर वनगाउँका किट्टु चौधरीले बताए । ‘यो समयमा सबैसँगै बसेर खानपान गर्दा आत्मीयता र एकताको सन्देश फैलाउन सहयोग पुग्छ’, उनले भने, ‘माघ स्नानको लागि राति धुनी बाली जाग्राम बस्दै, डम्फु मादलसहित धुमु्र गीत गाउने गरिन्छ । माघी पर्वमा निकै रमाइलो गरिन्छ ।’

यसरी माघी स्नानको लागि रातभर जाग्राम बसेर बिहान विभिन्न धार्मिक स्थान, तलाउ नदीमा गई स्नान गर्ने परम्परा थारु समुदायमा छ । माघ स्नानका लागि विभिन्न धार्मिक क्षेत्र तथा नदी तलाउमा जाने गर्दछन् भने र घरमै पनि नल्का, धारा र मोटरमा नुहाउने गर्दछन् । स्नानपश्चात् आफूभन्दा ठूलालाई ढोग गर्ने, आर्शिवाद लिने प्रचलन  रहेको वनगाउँका चाउके चौधरीले बताए ।

माघमा थारु समुदायमा आफ्ना छोरीचेलीलाई कोसेली उपहार अर्थात् ‘निसराउ’ दिने प्रचलन छ । ‘अन्य समयमा कपडा दिए पनि माघमा चामल दिने परम्परा छ तर अहिले चामलसँगै नगद पनि दिन थालिएको छ’, टीकापुरका हरि चौधरीले भने, ‘यो पर्वले छोरीलाई सम्मान गर्नुपर्छ, छोरीको महत्व बढाउनुपर्छ भन्नेसमेत सिकाएको छ ।’ माघी पर्व एकापसमा मेलमिलापको पर्व तथा थारु गाउँको प्रगति समीक्षा गर्ने, बरघर, भल्मन्सा, गुरुवा चिराकी चयन गर्ने र एक वर्षको कार्य योजना बनाउने र भाइभाइमा मनमुटाव भए घर छुट्टिने चलन रहेको वनगाउँका बरघर तेजबहादुर चौधरीले बताए । ‘पारिवारिक मनमुटाव रहेका यही पर्वको अवसरमा अब आ–आफ्नो तरिकाले अघि बढौँ भनी घर छुट्टिने चलनसमेत छ’, उनले भने, ‘घर चलाउन वर्षभरिको योजना यही समयमा बन्छ । वर्षभरिको योजना बनाएर चल्ने परम्परा थारु समुदायमा छ ।

पालिका प्रेस
थप जानकारी