बागमती प्रदेशका १८ जना मन्त्रीमध्ये ९ जना आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका छन् । बाँकी ९ मन्त्री भने उम्मेदवार बन्ने अवसरबाट वञ्चित भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे प्रदेशसभा छाडेर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट संघीय संसदका लागि धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका हुन् ।

बहालवाला मन्त्रीमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अधिकांश फेरि उम्मेदवार बनेका छन् । माओवादी केन्द्रबाट प्रदेशको मन्त्री बनेका ५ जना मध्ये ४ जना यस पटक पनि उम्मेदवार बनेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट मन्त्री बनेका ५ जनामध्ये ४ जना फेरि उम्मेदवार बनेका छन् । प्रदेश सरकारमा सबैभन्दा धेरै मन्त्री रहेको कांग्रेसले आगामी निर्वाचनमा भने थोरैलाई मात्र उम्मेदवार बनाएको छ । कांग्रेसका ८ जना मन्त्रीमध्ये ७ जना उम्मेदवार बन्न सकेनन् ।

कुन मन्त्री कहाँबाट उम्मेदवार ?

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीबाट सत्ता गठबन्धनको समर्थनमा चितवन–१ (ख) बाट उम्मेदवार बनेका छन् । प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बसन्त प्रसाद मानन्धर पनि एकीकृत समाजवादीबाट सत्तारुढ गठबन्धनको सहयोगमा काठमाडौं–७ (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादीबाट प्रदेशको मन्त्री बनेका एक जनाले भने सत्ता गठबन्धनबाट अलग भएर बागी उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईले गठबन्धनबाट अलग भएर प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीका तर्फबाट काभ्रे–२ (ख)मा उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीबाट प्रदेशको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी इन्द्रमाया गुरुङले आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाइनन् । यस अघिको निर्वाचनमा उनी एमालेको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

त्यस्तै माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल धादिङ–१ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि प्रदेशसभा सदस्यका लागि मओवादी केन्द्रबाट मकवानपुर–२ (क) मा उम्मेदवार बनेकी छन् ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल माओवादी केन्द्रबाट प्रदेशसभामा काभ्रे–१ (क)मा उम्मेदवार बनेका छन् । श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल माओवादी केन्द्रबाट प्रदेशसभाका लागि चितवन–२ (क)मा उम्मेदवार बनेका छन् । उनीहरु सबै सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका वन तथा वातावरण मन्त्री विशाल खड्काले भने आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । २०७४ को निर्वाचनमा दोलखाबाट निर्वाचित भएका खड्काले सत्तारुढ गठबन्धनमा भागबण्डाका लागि सो क्षेत्र गुमाउनु परेको हो ।

कांग्रेसबाट मन्त्री बनेका प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ आगामी निर्वाचनमा प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ (क)मा उम्मेदवार बनेका छन् । उनी प्रदेश मन्त्रीमध्ये कांग्रेसबाट टिकट पाउने एकमात्र व्यक्ति हुन् । उनी सत्ता गठबन्धनको समर्थनमा सो क्षेत्रमा चुनाव लड्दैछन् ।

प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित भएका उनी आसन्न निर्वाचनमा पार्टीले सो क्षेत्रमा अर्को व्यक्तिलाई अवसर दिँदा उम्मेदवार बन्न पाएनन् । त्यसै गरी कांग्रेसबाटै प्रतिनिधित्व गरेका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले पनि आगामी चुनावमा उम्मेदवार बन्ने अवसर पाएनन् । उनी यसअघिको उपनिर्वाचनमा भक्तपुरबाट निर्वाचित भएका थिए ।

कांग्रेसको कोटाबाट मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न पाएनन् । उनी २०७४ को निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट सांसद् भएका थिए । त्यस्तै कांग्रेसको समानुपातिक सूचीबाट सांसद बनेका प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले पनि उम्मेदवार बन्ने अवसर पाएनन् ।

त्यस्तै कांग्रेसको कोटाबाट प्रदेशको राज्यमन्त्री बनेका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाका साथै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । यस अघिको निर्वाचनमा उनीहरु समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेका थिए ।

-रातोपाटीबाट साभार गरेका हौं ।

पालिका प्रेस
थप जानकारी