मकवानपुरको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । भेटवार्ता नेपाली सेनाको मुख्यालयमा भएको भिमफेदी गाउँपालिकाले जनाएको छ ।

भेटमा मकवानपुरको भिमफेदीमा रहेको ऐतिहासिक चिसापानी गढी संरक्षण तथा विकासका वारेमा छलफल भएको पालिकाले जनाएको छ ।

गढीमा बन्दैछ पूर्वाधार

२ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३ करोड ७ लाख एक हजार रुपैयाँको लागतमा ऐतिहासिक चिसापानी गढीको संरक्षणका लागि पूर्वाधार निर्माण कार्य हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा सोही गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट तर्जुमा गरिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । गाउँपालिकाको सक्रियतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी ऐतिहासिक गढीको संरक्षण गरिने उनले बताए ।

कुल २८ करोड रुपैयाँको गुरु योजनासहित अघि बढाइएको उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरिएको अध्यक्ष लामाको भनाइ छ । निर्माण कार्यका लागि गत कात्तिक ७ गते निर्माण व्यवसायी कम्पनी अनक-माउन्टेन-गोले जेभीसँग ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उनले बताए ।

चालु आर्थिक वर्षमा वास्तुकलायुक्त प्रवेशद्वार तथा चिसापानी गढी क्षेत्रको करिब ४ बिगाहा क्षेत्रफलमा कम्पाउन्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण, सुरक्षागार्ड घर र टिकट घर निर्माण तथा सरसफाइको काम सम्पन्न गरिने उनले बताए ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब २९ किलोमिटर उत्तरमा पर्ने चिसापानी गढी मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीभन्दा केहीमाथि र देउराली डाँडाको मुनि अवस्थित छ ।

नेपाल एकीकरण, अंग्रेजहरुको उपनिवेश विरुद्धको युद्धहरूमा प्रयोग हुँदै आएको सो गढी पछि काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा प्रयोग हुँदै आएको अध्यक्ष लामाले बताए । उनका अनुसार विगतमा भारतबाट नेपाल प्रवेशको मुख्य नाकाको रुपमा सो गढी प्रयोग हुँदा अध्यागमन, नेपाल–भारतको व्यापारिक केन्द्रको रुपमा थियो । २०१८ सालपछि भने सो गढी ओझेलमा परेको उनले बताए ।

चिसापानी गढी प्राकृतिक वातावरणले पनि रमणीय छ । ऐतिहासिक बडा हाकिमको भवन, पुरानो भीमफेदी कारागार, वटुक भैरवको मन्दिर चिसापानी गढीको मुख्य आकर्षणको केन्द्र हो । सो गढीको अर्को विशेषता भनेको त्यहाँका तोप हुन् । देशकै चर्चित ३ वटा तोपमध्ये २ वटा तोप अझै पनि त्यहीँ छन् । त्यतिबेला युद्धमा प्रयोग भएको काली तोप, लाली तोप र आकाशे तोप देशकै चर्चित तोप हुन् । लाली तोप गोरखा दरबारमा राखिएको छ भने काली र आकाशे तोप चिसापानी गढीभित्रै छन् ।

उक्त गढीमा आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म मारक क्षमता रहेको काली तोप, यत्रतत्र छरिएर रहेका कार्तुस तथा गोलाले अवलोकनकर्तालाई तत्कालीन समयको परिकल्पना गराउन मद्दत पु¥याउने गाउँपालिकाको विश्वास छ । चिसापानी गढी किल्लाको निर्माण वैज्ञानिक आधारमा भएको छ । किल्लाभित्रबाट पानी र थप हतियार ल्याउन सुरुङ तयार गरिएको छ । सुरुङमा भर्‍याङ खुड्किला बनाउँदा सहज हुन्छ भन्ने सोचिएको देखिन्छ ।

पालिका प्रेस
थप जानकारी