जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसरमा थाहानगरमा विभिन्न सन्देशमुलक ¥याली तथा साँस्कृतिक झाँकी प्रदर्शनसहित मनाइको छ । ‘प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ थाहानगरमा विश्व वातावरण दिवस मनाइएको हो ।

थाहा नगरपालिकाको विभिन्न वडामा रहेका साँस्कृति झाँकी प्रदर्शन सहित मनायएको दिवसमा गित, भजन तथा प्लेकार्ड मार्फत वातावरण संरक्षणको सन्देश दिइएको थियो । थाहानगरको ओखरबजार, स्वास्थ्य चोक र शिखरकोटबाट शुरु भएको ¥याली एफमएम टोल, गोपाली गाउँ तथा दामन डाँडाबास सडक खण्ड हुँदै जेसिजमार्गबाट इन्द्रायण्ी चौर तथा जेसीजहलसम्म पुगेको थियो ।

     

कार्यक्रममा स्थानीय स्काउट, विद्यालयमा गठित स्काउट, पालुङ जेसीज, शिखर क्लव, झम्केश्वरी बाजा व्यवस्थापन समिती, कुन्छाल महिला बासुरी समूह, पालुङ सांस्कृतिक सम्पदा संरक्षण समूह, थाहा खैचडी भजन समूह, थाहा महिला खैजडी भजन समूह, गुरुङ समाज फुर्के, नवजागरण वन झाँक्री संगठन, नेपाल तामाङ बोम्बोे समाज, सक्रिय महिला उद्यमशिल समुहको नौमती बाजा, दामन चेली समाज, बजार व्यवस्थापन समितीहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु, जनप्रतिनिधिहरुले व्यानर, प्लेकार्ड सहित सचेतनामुलक सन्देश सहित ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागी विभिन्न साँस्कृतिक झाँकीहरु इन्द्रायणी चौरमा पुगेर प्रदर्शन गरेका थिए ।

वातावरण दिवसको अवसरमा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले शुभकामना दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताए । नगर प्रमुख विष्टले अनुसार सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको उल्लेख गरे । उनले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने धारणा राखे ।

मानव जातिको महत्वकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको थाहानगर उपप्रमुख भरत गोपाली बताए । उनले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पृथ्वीको तापक्रममा आएको क्रमिक वृद्धिले हिमालको हिउँ पग्लिने, सामुद्रिक सतहमा वृद्धि भई तटीय क्षेत्रहरू डुबानमा पर्ने, हिमाली भेगमा रहेका हिमतालहरू फुट्ने, हिउँ पहिरो, सुक्खा पहिरोजस्ता खतराबाट पारिस्थितिक प्रणाली प्रत्यक्ष वा अप्रत्यक्षरूपमा परेको असरबाट बच्न आन्तरिक तयारी र बाह्य जगत्सँग यसबारेमा दरिलो ढंगबाट वकालत गर्ने क्षमता वृद्धि गर्नुपर्ने खाँचो रहेको औल्याए ।

कार्यक्रममा सहभागी दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीले स्वच्छ वातावरणका लागि फोहर गरेर सफा गर्नेभन्दा पनि फोहर नै नगर्नु वा फोहरको सही व्यवस्थापन गर्नु उत्तम उपाय हुने बताइन् । वातावरण दिवसको अवसरमा आफुले सिकेको सीपलाई प्रदर्शन गर्न पाउँदा महिला समुहमा खुशी छाएको थाहा महिला खैजडी भजन समुहका अध्यक्ष सुनिता अधिकारीले बताइन् । उनले यस्ता कार्यक्रमले महिलाहरुले सिकेको सांस्कृतिक सिपलाई सबैको सामु प्रस्तुत गर्न पाउँदा खुशी लागेको सुनाइन् । नेपाली कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीले सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने बताए ।

कार्यक्रममा थाहा नगरपालिकाले सांस्कृतिक संरक्षणको लागि सहयोग तथा तालिम दिएका सांस्कृतिक समूहहरुको बाजा तथा झाँकिको सहभागीता रहेको थियो। थाहा नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार विगतका वर्षहरूमा भन्दा फरक ढंगले दिवस मनाउने क्रममा थाहा नगरपालिका मार्फत सहयोग गरिएका तथा समाजमा रहेका विभिन्न समुदायको साँस्कृतिक बाजा समूहको पहिचान गर्ने, नगरपालिकामा सूचीकृत गर्ने र झाँकी तथा ¥याली सँगै वातावरण संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको थाहा नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव अनिल लामिछानेले बताए ।

कार्यक्रमको अवसरमा साँस्कृतिक झाँकी प्रदर्शन गर्ने संस्था तथा समूहलाई प्रति समूह ७ हजार प्रोत्साहन सहयोगका साथै कदरपत्र प्रदान गरिएको थियो भने सहभागी सबै समूह तथा संस्थालाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी