झन्डै दुई करोड रुपैयाँ खर्चिएर निर्माण गरेको अर्जुनधारा नगरपालिकास्थित कृषि बजारका संरचना बेवारिसे बनेका छन् । एक वर्षअघि नै निर्माण सम्पन्न भएको संरचनामा बजार सञ्चालन हुने अझै निश्चित छैन ।

‘नयाँ बजार’ सञ्चालनमा नआउँदा जिल्लाकै ऐतिहासिक एवं पुरानो शनिश्चरे बजार ‘बिथोलिएको’ छ । ५० को दशकसम्म जिल्लाकै मुख्य आर्थिक कारोबार हुने गरेको चुरे नजिकको शनिश्चरे बजार अहिले इतिहास बनेको छ । पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, धनकुटामा उत्पादित वस्तुको प्रमुख बजार शनिश्चरे थियो । तर अहिले, एक सय वर्षअघिदेखि लाग्दै आएको शनिबारको साप्ताहिक बजार लाग्न छोडेको छ ।

अर्जुनधारा नगरपालिकाले स्थानीय अर्जुनधारा धामलाई व्यवस्थित तथा आकर्षक बनाउने नीतिअन्तर्गत पुरानो शनिश्चरे बजारलाई करिब एक किलोमिटर उत्तरमा स्थानान्तरण गर्ने योजना अघि सारेको थियो । उक्त योजनाअन्तर्गत जग्गा ब्यापारी रबि पोद्धारलगायतले अर्जुनधारा–८ स्थित प्लटिङमा नगरपालिकालाई १० कट्ठा जमिन निःशुल्क प्रदान गरेका थिए । नगरपालिकाले उक्त जमिनमा पाँच वटा ब्लकमा ८१ वटा व्यावसायिक सटर निर्माण गरेको छ ।

प्रदेश सरकारको एक करोड र नगरपालिकाको ९५ लाख गरि कृषि बजारका संरचना निर्माण गरेको नगरपालिकाका इन्जिनियर निरज अधिकारीले जानकारी दिए । २०७५ फागुन २७ मा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको केएम समता जेभीले ठेक्का पाएको थियो । कोभिडलगायत कारणले थप एक बर्ष गरी निर्माण कम्पनीले कृषि बजारका संरचना २०७७ फागुन २७ मा निर्माण सम्पन्न गरेको इन्जिनियर अधिकारीले बताए ।

निर्माण सम्पन्न भएको वर्ष दिन नाघेपनि सञ्चालनार्थ पहल नहुँदा कृषि बजारमा निर्माण भएका भवन तथा सटरहरू लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ । ‘यति राम्रा संरचना बनेपछि बजार विकास हुन्छ भन्ने सोचेका थियौं । तर, उल्टो भयो । बजारको विकास होइन, लागूऔषध प्रयोगकर्ता र आपराधिक गतिविधि गर्नेहरूको अखडा बन्यो’ स्थानीय कुमार भट्टराईले भने, ‘आसपासको क्षेत्रमा असुरक्षा बढ्दै गएपछि हामी स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गरायौं । सबै सटरहरू खुला थिए । हामीले ताला किनेर लगायौं ।’

नगरपालिकाले ठूलो लगानी गरेर संरचना बनाए पनि त्यसको औचित्य पुष्टि गर्न नसक्दा नवनिर्मित कृषि बजारका संरचनाहरू बेवारिसे बनेको उनको आरोप छ । उनले नगरपालिकाले तत्काल स्पष्ट नीति बनाएर बजार सञ्चालनमा ल्याउनुपर्ने माग गरे । पुरानो बजार हटाएपछि शनिश्चरेमा आधाभन्दा बढी आर्थिक कारोबार घटेको उनको दाबी छ । ‘शनिश्चरे जिल्लाकै पुरानो र ऐतिहासिक बजार हो । तर, पुरानो स्थानबाट बजार हटाएपछि यहाँ आर्थिक कारोबार पूरै घटेर गएको छ’ उनले भने, ‘नयाँ ठाउँमा बजार लगाउने भनेर संरचना बनायो । तर, संरचना बनिसकेको एक वर्ष नाघिसक्दा समेत बजार सञ्चालनमा ल्याउनेतर्फ नगरपालिका गम्भीर नभएको देख्दा दुःख लागेको छ ।’

मेयर हरि रानाले कृषि बजार सञ्चालनको तयारी तीव्र भइरहेको दाबी गरे । उनले तत्काल बोर्ड बैठकबाट निर्णय गरेर बजार सञ्चालनको विधि विधान तयार गर्ने बताए । ‘निर्माण भएका संरचनामा कसरी बजार सञ्चालन गर्ने भन्ने विषयमा तत्काल नगरपालिकाको राजस्व परामर्श समितिसँग सल्लाह गरेर बोर्ड बैठकले निर्णय गर्छ,’ उनले भने, ‘व्यापारीलाई सटर भाडामा दिँदा धरौटी लिने/नलिने वा कसरी अघि बढ्दा हुन्छ, त्यस विषयमा तत्काल छलफल गरेर अघि बढ्ने रणनीतिमा छौं ।’ मेयर रानाले पूर्ण रूपमा बजार सञ्चालन गर्न नसके नगरपालिकाका केही विषयगत शाखाका कार्यालयहरू लगेर राख्ने बताए ।

‘बजार सञ्चालन गर्ने प्रयास गरिरहेका छौं । हामीले सोचेजस्तो भएन भने कृषि, शिक्षा, महिला बालबालिका तथा संस्था दर्तालगायतका विषयगत शाखाका कार्यालयहरू त्यहाँबाट सञ्चालन गर्ने सोच बनाउँदै छौं’ उनले भने । ८ नम्बरका वडाध्यक्ष गोपीचन्द्र गौतमले निर्माण कम्पनीले निर्माण सम्पन्न गरेर सम्बन्धित निकायलाई जिम्मा नलगाएका कारण नवनिर्मित संरचनामा बजार सञ्चालन गर्नेबारे अन्योलता भएको बताए ।

पालिका प्रेस
थप जानकारी