मकवानपुरको थाहा नगरपालिकामा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने विषयमा बहस शुरु भएको छ । पर्यटकीय पालिका भएकाले पनि पर्यटक लक्षित गरी चार्जिङ स्टेशन निर्माणको लागि छलफल शुरु भएको छ । घुम्न आउने पर्यटकले सवारी चार्जिङ स्टेशनको खोजी गर्न थालेपछि यो विषय बाहिर आएको हो ।

नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष बिनोद लामा र नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीबीच चार्जिङ स्टेशन राख्ने विषयमा ११ साउनमा छलफल भएको छ । छलफलमा थाहाको दामन, बज्रवाराही र चित्लाङमा विद्युतीय चार्जिङ सेन्टर राख्ने विषयमा छलफल भएको अध्यक्ष लामाले जानकारी दिए । छलफलमा चार्जिङ स्टेशन राख्ने कुरामा विद्युत प्राधिकरण सकारात्मक रहेको प्रमुख रास्कोटीले जानकारी दिए । ‘यहाँको आवश्यकता पनि हो, छिट्टै पहल थाल्छौं’–वितरण केन्द्र प्रमुख रास्कोटीले भने ।

पालुङ वितरण केन्द्रका प्रमुख रास्कोटीका अनुसार–‘अन्य ठुला राजमार्गमा नेपाल विद्युत प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेशनको निर्माणलाई तिव्रता दिएपछि त्रिभुवन राजपथको केही स्थानमा पनि चार्जिङ स्टेशन राख्न छलफल भएकोमा सकारात्मक जवाफ आएकोले त्रिभुवन राजपथको केही स्थानमा चार्जिङ स्टेसन राख्न प्रक्रिया थालिने छ ।’

यसैबीच हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा गत आर्थिक वर्षमा चार्जिङ स्टेशन निर्माण सम्पन्न भएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले पुर्वपश्चिम राजमार्ग भएर गुड्ने बिद्युतिय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिएपछि सवारी चार्जिङ स्टेश बनेको हो । उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । रातोमाटेमा दुई वटा सवारी एकै पटक चार्ज गर्न सकिने छ ।

नेपाल विद्युत प्राधिकरणले देशभर ५१ वटा चाजिङ स्टेशन निर्माणका अघि बढाएकोमा ३२ वटाको निर्माण सम्पन्न गरेको छ । हेटौंडा रातोमाटे, भरतपुतर, खुर्काेट, सिन्धुली, रत्नपार्क, महेन्द्र पुलिस क्लव मुग्लीङ र बर्दिबास लगायतका ठाउँमा ३२ वटा चार्जिङ स्टेसनको निर्माण सम्पन्न भएको हो । प्राधिकरणले बनाएका र बनाउँदै गरेको स्टेशनलाई काठमाडौंबाट नै कन्ट्रोल गर्न सकिने प्रविधि राखिएको छ । गाडी चार्ज गरेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ ।

चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छ । चार्जिङ बन्न थालेपछि विद्युतीय सवारी साधानहरु चार्ज गर्न सहज हुने गरेको प्राधिकरणको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी