संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार स्थानीय तहमा पुगेको छ । यसले विकास निर्माणमा केन्द्रको मुख ताक्नुपर्ने अवस्था क्रमशः हट्दै गएको छ । स्थानीय सरकारसँग नागरिकले स्थानीय अवश्यकताअनुसारकै विकास माग्ने अवस्था सिर्जना भएको छ । इलाम नगरपालिकाका जनप्रतिनिधिले सडक पूर्वाधार निर्माणमा जोड दिइरहेका छन् । साढे ४ वर्षमा नगरपालिकाभित्र सडक स्तरोन्नतिदेखि कालोपत्रे गर्ने काम भएका छन् ।

इलाम नगरपालिकाका जनप्रतिनिधिले सुरुवाती समयमै गाउँगाउँका गोरेटो बाटालाई सडकमा स्तरोन्नति गर्ने योजना लागू गरे । जनप्रतिनिधि आउनुअघि इलाममा बिनामापदण्ड सडक खनिएका थिए । नगरपालिकाले राजमार्गबाहेकको ७ सय १९ किलोमिटर सडकलाई वैज्ञानिक ढंगले चार वर्गमा विभाजन गरेर काम गर्दा अहिले नगरका सडकको स्तरोन्नति भएको छ । नयाँ ट्र्याक नखोल्ने र खोल्नैपर्ने भए भूक्षय नहुने, वनजंगल क्षति नगर्ने, पानीका मुहान नोक्सानी नहुने मापदण्ड तोकेको छ । यही नीतिले इलाममा वैज्ञानिक ढंगले सडक विस्तार भइरहेको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

इलामको गोलाखर्कदेखि बेलासेसम्मको १० किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएसँगै यो सडकलाई तराईसँग जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गरिएको छ । त्योबाहेक नगरपालिकाले केही नयाँ सडकको डीपीआर तयार पारेर काम अघि बढाएको छ ।

नगरपालिकाले डीपीआर तयार गरेका सडकमा रत्नचोक, इन्टेक साङ्गरुम्बा सडक, १३.८७८ किमि, मिल गोलार्ई विणापाणि स्कुल सडक, ७.०८ किमि, भन्ज्याङ,भाङ्गटार बेलासे सडक, ९.६७० किमि, बरबोटे, सुम्बेक सडक खण्ड, ६.२६३ किमि, तिल्केनी वज्रदेवी सडक, ५.९१८ किमि रहेका छन् ।

विकास निर्माणका लागि नगरपालिका मात्र नभई वडा कार्यालयले पनि साझेदारीमा काम गर्दै आएका छन् । सिँचाइ, खानेपानी आयोजना निर्माणको काम अघि बढिरहेको छ । नगरपालिकाको प्रशासकीय भवन बनेको छ ।  १२ वटै वडाको कार्यालय भवन र स्वास्थ्य संस्थाका भवन निर्माण भइसकेको नगर उपप्रमुख सुशीला नेम्बाङले जानकारी दिइन् ।

नगरपालिकाले वडा नम्बर ७ मा ६८ वटा मोटरसाइकल अट्ने क्षमता भएको पार्किङ भवन निर्माण गरेको छ । वडा नम्बर ३, ४, ८, ११ को प्रशासकीय भवन निर्माण भएको छ । वडा नम्बर ४ मा १ तले ३ कोठे आधारभूत स्वास्थ्य केन्द्र भवन बनेको छ । यस्तै, सबै वडामा स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । माध्यमिक तहका विद्यालयका भवन, शौचालय र कभर्ड हलसमेत निर्माण गरिएको नगरप्रमुख बस्नेतले सुनाए ।

नगरपालिकाको तथ्यांकअनुसार साढे चार वर्षमा ४५ भन्दा बढी सडकको स्तरोन्नति भएको छ भने नयाँ ढलान तथा कालोपत्रे भएका सडक संख्या ८ पुगेको छ । यसरी निर्माण गरिएका सडकमा नियमित अनुगमन हुँदा गुणस्तरीय काम भएको दाबी नगर उपप्रमुख नेम्बाङको छ । पर्यटन र कृषिसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्दा नागरिकलाई दैनिक कामकाजमा सहजता मिलेको छ । सडक र पूर्वाधार निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राख्दा आर्थिक र सामाजिक विकासमा दिगोपना आउने देखिन्छ ।

पालिका प्रेस
थप जानकारी