हेटौंडा उपमहानगरपालिकाले खानेपानीको दीर्घकालीन स्रोत खोज्न थालेको छ । बजार स्थापनादेखि खानेपानीको समस्यामुक्त सहरको रुपमा रहेको हेटौंडामा आगामी वर्षमा पनि अभाव खट्किन नदिन खानेपानीको दीर्घकालीन स्रोत खोजी थालिएको हो । हेटौंडामा प्रदेश राजधानी भएपछि जनसंख्या बढ्दो छ । नगरपालिकाबाट उपमहानगरपालिका भएपछि थपिएका साविकका वडाहरुमा पनि पानीको उपलब्धता गराउनुपर्नेमा उपमहानगर छ । तसर्थ, बढ्दो सहरीकरण र जनघनत्व, साविकको वडाहरुमा पानीको उपलब्धतालाई ध्यानमा राखेर खानेपानीको दीर्घकालीन स्रोतको खोजी गर्न लागिएको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

बढ्दो जनसंख्या, साविकको क्षेत्र बढाउन र स्रोतको अभावलाई सुनिश्चितता गर्न दीर्घकालीन रुपमा पानीको अभाव न्यूनीकरण गर्नका लागि नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा एकीकृत खानेपानी तथा सरसफाई एवम व्यवस्थापन आयोजनाअन्तर्गत् छलफल गरिएको थियो । खानेपानी डिजाइन विज्ञहरु मदनकुमार डंगोल, विमल ढकाल, समाजशास्त्री प्रकाशभक्त श्रेष्ठ, खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष प्रतापविष्टसहित हेटौंडाका मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सविन न्यौपानेलगायतका जनप्रतिनिधि र उपमहानगरकै योजना शाखाका प्राविधिकहरु सहभागी बैठकले तीनवटा विकल्पमा छलफल गरेको छ ।

हेटौंडा उपमहानगर नगरक्षेत्रको पानी वितरण गुरुयोजना बनाउन तीनवटा विकल्प पान्द्राङ मुहान, कुलेखानी तेस्रो टेलरेष्ट र राप्ती नदीको लालझाडी बोकेदह लिफ्टिङ आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । पान्द्राङ मुहान, कुलेखानी तेस्रो टेलरेष्ट र राप्ती नदीको लालझाडी बोकेदह लिफ्टिङ आयोजनाबाट दीर्घकालीन रुपमा पनि समस्या नहुने गरी पानी ल्याउन सम्भाव्यता अध्ययन गरिने भएको हो । पहिलो चरणमा अध्ययनपश्चात् हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग छलफल गरी प्राथमिकताका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र हेटौंडा उपमहानगरपालिकाको पानी वितरण प्रणाली नक्सांकन आवश्यकताका आधारमा अन्य क्षेत्रमासमेत अध्ययन गर्ने निर्णय भएको छ ।

हाल हेटौंडामा पुरानै बुङ्दल खानेपानी र अन्य डीप बोरिङबाट पानीको उपलब्धता भइरहेको छ । मेयर लामाले जनतालाई स्वच्छ पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेअनुसार कार्यसम्पन्न गर्नका लागि दीर्घकालीन सोचको खोजीमा अहोरात्र खटिरहेको बताइन् । ‘हामी जनतालाई स्वच्छ पानी उपलब्ध गराउने वाचा पूरा गरी छाड्ने छौं ।’, लामाले भनिन् । उपमहानगरका प्रवक्ता न्यौपानेले पिउने पानीमा उपमहानगरलाई दीर्घकालीन समस्या आउन नदिन दीर्घकालीन योजनाका साथ उपमहानगरपालिका अगाडि बढेको बताए ।

बढ्दो जनसंख्या र क्षेत्रफलअनुसार उपमहानगरअन्तर्गत्को खानेपानी व्यवस्थापन बोर्डलाई सक्षम बनाउँदै आवश्यक पानीको स्रोत उपलब्ध गराउन उपमहानगरपालिकाले छिमेकी पालिकाहरुसँग सहकार्य र समन्वय गर्न सक्रियता पूर्वक लागेको उनको भनाई छ । पानीको स्रोत वृद्धिसँगै जनतालाई बोर्डमार्फत् निःशुल्क रुपमा पिउने पानी उपलब्ध गराउने पूर्वघोषित कार्यक्रममा उपमहानगर सक्रिय तरिकाले लागेको उनले जनाए । हेटौंडा खानेपानी बोर्ड अध्यक्ष प्रताप विष्टले बोर्डको पानी प्रशारण क्षेत्रमा हाल उपमहानगरको सहयोगमा १० हजार लिटर पिउने पानी निःशुल्क उपलब्ध गराएको बताए । उनले दीर्घकालीन रुपमा थप स्रोत खोज्दै गरेकाले सबै वडामा पानीको सहज उपलब्धताका लागि सम्भाव्यता अध्ययन गर्ने क्रममा यो चरणमा तीन वटा विकल्पमा तत्काल काम सुरु गर्ने जानकारी दिए ।

बोर्डले उपमहानगरका वडा नम्बर ३, ११, १२ र १३ नम्बर वडा बाहेकमा बसोबास गर्ने एक लाख ५५ हजार नगरवासीलाई दैनिक एक करोड ८८ लाख लिटर पानी वितरण गर्दै आइरहेको छ । करिब २३ हजार ५ सय धाराबाट दैनिक ६ देखि ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष विष्टले जानकारी दिए । हेटौंडा उपमहानगरले नगरबासीलाई राहतस्वरुप एक वर्षअघि अर्थात गत भदौमहिनादेखि न्यूनतम खानेपानी महशुलमा १० हजार लिटर छुटको व्यवस्था गरेको थियो । उपभोक्तालाई पानी वितरणको लागि बोर्डले गत आव २०७९÷८० मा उपभोक्तासँगको सहकार्यमा २६ लाख ४२ हजार ५ सय ४ बराबरको २२ हजार ३ सय ३६ मिटर पाइप लाइन विस्तार गरेको थियो ।

बोर्डको सेवा क्षेत्रभित्र ४ लाख ३८ हजार रुपैयाँ बराबरको ३ हजार ८६ मिटर जीर्ण पाइप परिवर्तन गरेको बताइएको छ । बोर्डको सेवा क्षेत्रभन्दा बाहिर हेटौंडा उपमहानगरपालिकाको सिफारिसमा २८ लाख ३६ हजार ४ सय ५४ रुपैयाँ बराबरको ५१ हजार ९ सय २० मिटर पाइप उपलब्ध गराइएको छ । हेटौंडामा खानेपानी अभाव हुन नदिन बोर्ड हरसम्भव प्रयासमा पनि लाखेको देखिएको छ । यसअघि पानीको अभाब हुने क्षेत्रमा ट्याङकरबाट पानी बितरण गर्न थालेको खानेपानी बोर्डले रातारात बोरिङ गरेर थप पानी उत्पादन गरेको थियो । दैनिक १० लाख लिटर पानी बोर्डको आपूर्ति प्रणालीमा गत जेठमा थपिएको छ ।

सामरी खोलामा बोरिङ गरेर सुख्खायाममा पानी आपूर्ति गर्ने व्यवस्था मिलाइएको बोर्डका अध्यक्ष बिष्टले जानकारी दिए । खानेपानी व्यावस्थापन बोर्डले यसअघि पानीको अभाब भएका क्षेत्रहरुमा ट्याङकरबाट खानेपानी वितरण गर्न थालेको थियो । लामो समयदेखिको खडेरोले खानेपानी उत्पादनमा कमी आएकोले पानी वितरण प्रर्याप्त हुन नसकेपछि उपभोक्तालाई ट्याङकरबाट पानी वितरण गर्न परेको बिष्टले बताए । सुख्खायामका कारण पानीको मुहान समेत सुक्दै गएकाले उपभोक्ताका धारामा पानी आउन छोडेको गुनासो नगरबासीले गर्दै आइरहेका थिए । उपभोक्ताको गुनासो सम्बोधनका लागि पनि उपमहानगर दीर्घकालीन स्रोतको खोजीमा जुटेको हो ।

पालिका प्रेस
थप जानकारी