अक्सिजन प्लान्ट निर्माण गरे पनि स्टोर गर्न नसक्दा जलेश्वर अस्पतालले बाहिरबाटै अक्सिजन खरिद गर्दै आएको छ । अस्पतालले उत्पादनपछि सिलिन्डरमा भर्ने सिस्टम जडान गर्न नसकेको हो ।

प्रदेश सरकारको ५० लाख लागतमा निर्माण भएको प्लान्ट अस्पतालले झन्डै २ महिनाअघि सञ्चालनमा ल्याएको थियो । तर स्टोर नगर्दा कति उत्पादन भयो र कति खपत भयो भन्न नसकिने अस्पतालका प्रमुख डाक्टर सतीश साहले बताए । अस्पतालको आईसीयू, एचडीयू र इमर्जेन्सी शाखामा प्लान्टबाट पाइप लाइनकै माध्यमबाट अक्सिजन पुर्‍याउने व्यवस्था छ । तर, एक–दुई जना बिरामी र सामान्य बिरामीका लागि प्लान्ट सञ्चालन गर्न नसकिने भएकाले अक्सिजन किन्ने गरेको डाक्टर साहले बताए । उनका अनुसार अस्पतालले अहिले महिनामा १५ वटासम्म अक्सिजन सिलिन्डर खरिद गरिरहेको छ । अक्सिजन स्टोर गर्न बुस्टर डिभाइस आवश्यक छ । बुस्टर डिभाइस जडान गर्न २५ देखि ३० लाख बजेट चाहिन्छ । त्यति रकम नहुँदा तत्काल अस्पतालले व्यवस्था मिलाउन नसकेको साहले बताए । बुस्टर डिभाइस जडान गरी अक्सिजन स्टोर गर्ने व्यवस्था मिलाइदिन प्रदेश सरकारसँग आग्रह गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको प्लान्टबाट दैनिक १५ वटा सिलिन्डर भर्न सकिन्छ । प्लान्ट चलाएर उपचार गर्दा बिजुलीको बिल धान्न नसकिने गरी महँगो पर्ने साहले बताए । यहाँ स्टोर गर्न थाले यस क्षेत्रका अन्य अस्पताललाई समेत अक्सिजन उपलब्ध गराउन सकिने अस्पतालले जनाएको छ । कोरोनाको तेस्रो लहर सुरु हुनु पहिले नै प्लान्ट सञ्चालनमा आएको थियो । करिब एक महिना अस्पतालले नियमित अक्सिजन उत्पादन गरी पाइप लाइनकै माध्यमबाट कोरोनाका बिरामीको उपचार गरेको डाक्टर साहले बताए ।

अक्सिजन उत्पादनमा अस्पतालभित्रैका प्राविधिकलाई दक्ष बनाएर अस्पतालले तयारी अवस्थामा राखेकाले आवश्यक परेको जुनसुकै समय उत्पादन गर्न सक्ने साहको भनाइ छ । दैनिक १ सय २० देखि १ सय ५० जनासम्म बिरामी आउने अस्पतालमा अक्सिजन दिनुपर्ने बिरामीको संख्या भने कम छ । अहिले विशेषज्ञ डाक्टरसहित यहाँ २० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

पालिका प्रेस
थप जानकारी