न्द्रकला पकुवाल बिर्तामोड नगरपालिका–७ की कार्यवाहक वडा अध्यक्ष हुन् । वडावासीको सेवाका लागि उनी दैनिक कार्यालय जान्छिन् । तर, आफ्नो वडाको कार्यालय होइन, छिमेकी ८ र ९ को सिमानामा रहेको वडा कार्यालय भवनमा । गरामनी बजारस्थित वडा कार्यालय भवन बिर्तामोड–८ वा ९ नम्बर वडाको हो भन्ने विवाद छ । पकुवालले जबर्जस्ती त्यही कार्यालय भवनमा बसेर आफ्नो वडाको कामकारबाही गर्दै आइरहेकी छन् । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिन अब साढे तीन महिना मात्र बाँकी छ । तर, बिर्तामोड नगरपालिकाले अहिलेसम्म वडा कार्यालय निर्माण गरिनसक्दा वडा ७, ८ र ९ संयुक्त वडा कार्यालय भवनबाट सेवा प्रदान गर्न बाध्य छन् ।

‘उहाँ (जनप्रतिनिधि) हरूलाई त सजिलै होला । तर, हामी वडावासीलाई गाह्रो भइरहेको छ,’ वडा ९ का प्रेमप्रसाद भण्डारीले गुनासो गरे, ‘आफ्नो वडाको जनप्रतिनिधि र वडा सचिव कुन कोठामा बसेका छन् भनेर एकछिन खोज्नुपर्छ । पढ्न नजान्ने वडावासीले त सबै कोठा चहारिसकेपछि मात्र पत्ता लगाउँछन् ।’ उनले संयुक्त वडा कार्यालय भवन तीनवटै वडाका बासिन्दाका लागि उपयुक्त स्थानमा नभएको बताए । ‘गाउँ–गाउँमा सिंहदरबार भनेको सुनेका थियौं । त्यसअनुसार त वडावासीको पायक पर्ने स्थानमा वडा कार्यालय भवन हुनुपर्ने हो,’ भण्डारीले भने, ‘तर, यो वडा कार्यालय भवन तीनवटै वडाका जनताका लागि अनुपयुक्त स्थानमा छ । ७ नम्बरका वडावासीले त आफ्नो वडा नाघेर आउनुपर्छ ।’ दुईतले वडा कार्यालय भवनको भुइँतलामा जनप्रतिनिधिहरू बस्छन् । माथिल्लो तलाको पाँचवटा कोठामा तीनवटै वडाका वडा सचिव तथा प्रशासनिक शाखाहरू छन् । कार्यालयमा गोप्य कोठा छैन । मेलमिलाप समितिको छुट्टै कोठा छैन । भुइँतलामा एउटा कोठा खाली राखिएको छ । त्यही कोठामा कुर्सी भेला पारेर तीनवटै वडाका मेलमिलाप समितिले आ–आफ्नो वडामा परेका समस्या समाधानका लागि छलफल गर्छन् ।

‘कहिलेकाहीँ त तीनवटै वडाको मेलमिलाप समितिको काम परिदिन्छ,’ ७ नम्बरकी कार्यवाहक वडाध्यक्ष पकुवालले भनिन्, ‘अनि त कोही बजारको सामुदायिक भवनमा, कोही बाहिर खुला ठाउँ खोजेर छलफल गर्नुपर्छ ।’ उनले वडा कार्यालय भवनका लागि नगरपालिकामा पटकपटक कुरा उठाएको बताइन् । ‘हजार पटक कुरा उठाएँ होला । तर, नगरपालिकाले चासो नै दिएन,’ उनले भनिन्, ‘बिजोगले वडावासीको काम गरिरहेका छौं । जनप्रतिनिधिको एउटा कोठा छ । वडा समितिको बैठक पनि यहीं बस्नुपर्छ । सेवाग्राहीलाई पनि यहींबाट सेवा दिनुपर्छ । दुई–चार जना डेलिगेसन आउँदा बसौं भन्ने अवस्था छैन ।’

स्थानीय तुलसी कडरियाले १५ कट्ठा १० धुर जमिन दान गरेपछि दुई महिनाअघि वडा ७ कार्यालय भवनको निर्माण कार्य सुरु भएको पकुवालले बताइन् । संयुक्त वडा कार्यालय भवन आफ्नो भूगोलभित्र रहेकाले अर्को भवन निर्माण नगरेको ९ नम्बर वडाकी वडाध्यक्ष पवित्रा पाठकको दाबी छ । ‘७ र ८ नम्बरले किन आ–आफ्नो वडा कार्यालय व्यवस्थापन नगरेको बुझ्न सकिएको छैन,’ उनले भनिन्, ‘एउटै भवनमा तीन वटा वडा कार्यालय रहँदा सेवाग्राही सधैं झुक्किन्छन् । ध्यान दिएर हेरिएन भने अर्को वडाको सेवाग्राहीको निवेदनमा तोक लगाएर पठाइन्छ ।’

८ नम्बरकी कार्यवाहक वडाध्यक्ष इन्दिरा पाण्डेले भने संयुक्त वडा कार्यालय भए पनि आफूहरूलाई कुनै असुविधा नभएको बताइन् । उनले काम गर्न सहज नै भएकाले छुट्टै वडा कार्यालय बनाउनेतर्फ नसोचेको बताइन् । ‘वडा कार्यालय भवन भएको जमिन ८ र ९ को आधा–आधा पर्छ भन्ने मैले सुनेको हो । तर, अहिले कता पर्छ थाहा भएन,’ उनले भनिन्, ‘फेरि काम गर्न गाह्रो पनि भएको छैन । किन चाहियो अर्को वडा कार्यालय ?’

पालिका प्रेस
थप जानकारी